सल्यानको दार्मामा स्क्रब टाइफसको जोखिम बढ्यो, एक महिनामा ७ जनाको मृत्यु
सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिन थालेपछि नियन्त्रणमा चुनौती थपिएको छ। पछिल्लो एक महिनामा स्क्रब टाइफसकै कारण ७ जनाको मृत्यु भएको छ भने सयौंमा संक्रमण पुष्टि भएको छ।
गाउँपालिकामा मंगलबार १६० जनाको स्क्रब टाइफस परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
परीक्षण गरिएकामध्ये ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेपछि संक्रमण नियन्त्रण तथा रोकथाम चुनौतीपूर्ण बनेको छ। त्यससँगै परीक्षण किटको मौज्दातसमेत घट्दै गएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार दार्मा–१, ५ र ६ संक्रमणबाट बढी प्रभावित छन्। जोखिममा रहेका नागरिकको परीक्षण गर्न थप करिब १ हजार २०० वटा परीक्षण किट आवश्यक देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
हालसम्म प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी ५५० वटा परीक्षण किट दार्मा पुगेका छन्। तर संक्रमणको दर उच्च रहेकाले उक्त किट पर्याप्त नहुने स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए।
‘परीक्षण गर्नुपर्ने मानिसको संख्या बढिरहेको छ। तर किटको मौज्दात घट्दै गएको छ। तत्काल थप किट उपलब्ध नभए परीक्षण प्रभावित हुनसक्छ,’ बस्नेतले भने।
किट र जनशक्ति पठाउने प्रदेश सरकारको तयारी
दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले थप परीक्षण किट, औषधि र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई आवश्यक सामग्री तथा जनशक्ति तत्काल प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएको बताएका छन्।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काका अनुसार मागअनुसार आवश्यक परीक्षण किट, औषधि र स्वास्थ्यकर्मीसहितको टोली सल्यान पठाउने तयारी गरिएको छ।
सल्यानका अन्य पालिकाले पनि मागे किट
दार्मासँगै सल्यानका अन्य स्थानीय तहमा पनि स्क्रब टाइफस परीक्षण किटको माग बढेको छ।
कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले समेत स्क्रब टाइफस परीक्षण किट माग गरेका छन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्क्रब टाइफस तथा डेङ्गु परीक्षण किटसँगै डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, पारासिटामोललगायत औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको छ।
एक महिनामा ७ जनाको मृत्यु
स्वास्थ्य शाखाका अनुसार पछिल्लो एक महिनामा स्क्रब टाइफसका कारण दार्मा गाउँपालिकाका ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दार्मा–६ का ८२ वर्षीय बलबहादुर थापा र ६७ वर्षीय नरबहादुर बुढाथोकी, दार्मा–५ का ६९ वर्षीय तुलबहादुर खड्का, दार्मा–१ का ५१ वर्षीय खिमानन्द केसी, ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकाय तथा दार्मा–२ का १२ वर्षीय नरेश ओली छन्।
स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा पठाइएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो।
स्क्रब टाइफसको संक्रमण बढ्दै गएपछि गाउँपालिकाले जोखिममा रहेका नागरिकको परीक्षण, उपचार र संक्रमण रोकथामका लागि थप स्रोतसाधन तथा जनशक्ति आवश्यक रहेको जनाएको छ।
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग




प्रतिकृया दिनुहोस