दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)

काठमाडौं । नियमित व्यायामले मुटुको स्वास्थ्यमा मात्रै नभई मानसिक स्वास्थ्य, क्यान्सर, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम घटाउन मद्दत गर्ने मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले बताएका छन्।

उनका अनुसार व्यायामले तौल नियन्त्रण गर्न, कोलेस्ट्रोल, रक्तचाप र रक्तचापसँग सम्बन्धित जोखिम घटाउन तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग गर्छ। नियमित व्यायामले मुड सुधार्नुका साथै तनाव र डिप्रेसन व्यवस्थापनमा समेत सहयोग पुग्ने उनले बताए।

व्यायामले मस्तिष्कको कार्यक्षमता र स्मरणशक्ति बढाउन पनि सहयोग गर्ने डा. कोइरालाको भनाइ छ। नियमित व्यायाम गर्ने दिन आफूलाई बढी सक्रिय, ताजा र कुराहरू बुझ्न तथा विश्लेषण गर्न सहज महसुस हुने उनले बताए।

डा. कोइरालाका अनुसार मुटु स्वस्थ राख्न अपनाइने जीवनशैलीका उपायले अन्य रोगको जोखिम पनि घटाउँछन्। व्यायामले शारीरिक तन्दुरुस्ती कायम राख्नुका साथै क्यान्सरको जोखिम घटाउनसमेत सहयोग गर्ने उनले बताए।

उनले धूम्रपानले शरीरको प्रत्येक अंगमा नकारात्मक असर गर्ने भन्दै ‘धूम्रपान गर्दा आराम लाग्छ’ भन्ने अनुभूति भ्रमपूर्ण रहेको बताए। धूम्रपानले आयु घटाउने जोखिम बढाउने भएकाले आफूले धूम्रपान नगर्ने र अरूलाई पनि त्यसबाट टाढा रहन प्रोत्साहित गर्नुपर्ने उनको सुझाव छ।

डा. कोइरालाले नसर्ने रोगको जोखिम कम गर्न जनचेतना र स्वास्थ्यसम्बन्धी हस्तक्षेपको भूमिका महत्वपूर्ण रहेको बताए। उनका अनुसार धूम्रपान नियन्त्रण, नियमित व्यायाम, स्वस्थ आहार र स्वास्थ्य परीक्षणजस्ता उपायले मानिसलाई अकाल मृत्युबाट जोगाउन सहयोग गरेका छन्।

यस वर्षको विश्व मुटु दिवसको सन्देश ‘Don’t Miss a Beat’ लाई जोड्दै उनले मुटुको प्रत्येक धड्कनसँगै आफ्नो र समाजको स्वास्थ्यका लागि केही योगदान गर्नुपर्ने बताए। उनका अनुसार यस सन्देशले रोगको रोकथामसँगै समस्या देखिएमा समयमै पहिचान गर्ने विषयलाई पनि जोड दिन्छ।

उनले रक्तचाप, मुटुको चाल, कोलेस्ट्रोल, रगतमा चिनी तथा मिर्गौलाको कार्यसम्बन्धी परीक्षण समय–समयमा गर्न सुझाव दिए। कुनै समस्या वा शंका देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनुपर्ने उनको भनाइ छ।

नेपाल सरकारले नसर्ने रोगको स्क्रिनिङलाई प्राथमिकता दिँदै हरेक फागुनलाई एनसीडी स्क्रिनिङ मन्थका रूपमा अघि बढाएको उल्लेख गर्दै डा. कोइरालाले नियमित स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्नुपर्ने बताए।

उनले अन्त्यमा स्वास्थ्यका लागि गर्नुपर्ने प्रमुख काममध्ये दैनिक व्यायामलाई प्राथमिकता दिन आग्रह गरे। नियमित शारीरिक गतिविधिले स्वस्थ जीवन जिउन र दीर्घायु बनाउन सहयोग गर्ने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस
↑