भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते बिहान गएको अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको मृत्यु भएको छ भने पाँच हजार ५५० जना बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आँकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।

सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । 

यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । करिव सात हजार ५७० घरहरू प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिव ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् ।

बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । 

प्रतिकृया दिनुहोस
↑