ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

ओखलढुङ्गा । ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ।जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका निःशुल्क छनोट शिविरबाट मोतियाबिन्दु पहिचान भएका तथा उपचारका लागि जिल्ला सामुदायिक आँखा केन्द्रमा आएका बिरामीको शल्यक्रिया गरिएको हो।

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाको संयुक्त आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टीका राईले बताइन्।

उनका अनुसार ३४ जनाको फ्याको प्रविधि र ९ जनाको एसआइसिएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। यसैगरी आँखामा मासु पलाएका तीन जनाको पनि सफल शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ।

फ्याको प्रविधिबाट सहुलियत शुल्कमा तथा एसआइसिएस प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको हो। तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोलीले ओखलढुङ्गामै आएर शल्यक्रिया गरेको राईले बताइन्।

जिल्लामै विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट आँखाको शल्यक्रिया हुन थालेपछि फ्याको प्रविधिबाट शल्यक्रिया गराउने बिरामीको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ।

यसअघि मोतियाबिन्दुको शल्यक्रियाका लागि बिरामी जिल्ला बाहिर जानुपर्ने अवस्था रहेकामा जिल्लामै सेवा उपलब्ध हुन थालेपछि सहज भएको केन्द्रको भनाइ छ।

मोतियाबिन्दु अन्धोपनको प्रमुख कारणमध्ये एक भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको जिल्ला सामुदायिक आँखा केन्द्रले जनाएको छ।

केन्द्रले जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क छनोट शिविर सञ्चालन गर्दै आएको छ। शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई जिल्लामै शल्यक्रियाको व्यवस्था गरिँदै आएको राईले बताइन्।

प्रतिकृया दिनुहोस
↑