बागलुङमा डेंगीको प्रकोप, धौलागिरि अस्पतालमा शय्या अभाव
बागलुङ । बागलुङमा डेंगी संक्रमण बढेसँगै धौलागिरि अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा शय्या अभाव भएपछि कतिपय बिरामीलाई परीक्षण र उपचारपछि घर पठाएर नियमित फलोअपमा राखिएको छ।
बागलुङ नगरपालिका–१ की लक्ष्मी श्रेष्ठ केही दिनअघि डेंगीका लक्षण देखिएपछि धौलागिरि अस्पताल पुगिन्। अस्पतालमा शय्या खाली नभएपछि उनी दैनिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण तथा उपचार गराएर घर फर्किइन्।
‘बिरामीले भरिभराउ भएकाले शय्या पाउन मुस्किल छ। अस्पताल आउने अधिकांश बिरामी डेंगी ज्वरोका हुने गरेका छन्,’ उनले भनिन्।
बानपा–१ कै भूमिश्वर गौतम पनि डेंगी निको नभएसम्म दैनिक अस्पताल पुगेर परीक्षण गराउँदै घर फर्किरहेका छन्। बिरामीको चाप बढेपछि अस्पतालले भर्ना गर्नुअघि बिरामीको घर अस्पतालबाट टाढा वा नजिक छ भन्ने अवस्थासमेत हेर्न थालेको मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए।
गम्भीर समस्या भएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ भने अन्य बिरामीको अवस्था हेरेर भर्ना गरिएको अस्पतालले जनाएको छ। पछिल्लो दुई सातामा बालबालिकामा संक्रमण बढी देखिएपछि बाल वार्डमा शय्या नपुग्दा जनरल वार्डमा समेत राखेर उपचार गरिएको छ।
साउनदेखि १ हजार ५८९ जनामा डेंगी
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार साउनदेखि हालसम्म बागलुङमा १ हजार ५८९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार ३८९ जनाको धौलागिरि अस्पतालमा उपचार भएको छ। अन्य बिरामीको ग्रामीण क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा उपचार गरिएको कार्यालयले जनाएको छ।
यी तथ्यांक रगत परीक्षणपछि संक्रमण पुष्टि भएका बिरामीको मात्रै हो। घरमै उपचार गराइरहेका बिरामीको संख्या भने तथ्यांकमा समावेश छैन।
बिरामीको संख्या बढेपछि स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरेको छ।
मलेरिया इन्स्पेक्टर कमला थापाका अनुसार शंकास्पद स्थानबाट लार्भा संकलन गरी परीक्षण गर्ने तथा पानी जमेको स्थानमा पानी फाल्ने र लार्भा नष्ट गर्ने काम भइरहेको छ।
सफा पानी जमेको स्थानमा समेत डेंगी सार्ने एडिस लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
बालबालिकामा संक्रमण गम्भीर
डेंगी संक्रमणका कारण अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाकी हुने तथा गम्भीर अवस्थामा बेहोस हुने समस्या देखिएका बिरामी अस्पतालमा आएका छन्।
डेंगीसँगै स्क्रब टाइफसका बिरामीसमेत बढेका छन्। अस्पताल स्रोतका अनुसार भदौयता झण्डै १०० जनामा स्क्रब टाइफस देखिएको छ। स्क्रब टाइफसमा समेत डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।
बालबालिकामा देखिएको संक्रमण अझ चुनौतीपूर्ण रहेको अस्पतालले जनाएको छ। काठेखोला गाउँपालिका–७ का चार वर्षीय एक बालकलाई पाँच दिनसम्म अस्पतालमा राखेर उपचार गरिएको थियो। संक्रमण नियन्त्रणमा आए पनि चिकित्सकले थप एक–दुई दिन अस्पतालमै राखेर उपचारपछि मात्रै डिस्चार्ज गर्ने सल्लाह दिएका छन्।
बाल वार्डमा बिरामीको चाप निरन्तर रहेको डा. तिवारीले बताए। उनका अनुसार संक्रमण दर साउन र भदौको तुलनामा केही घटे पनि बिरामीको संख्या भने अझै उल्लेख्य छ।
‘निको भएर गएकाहरू पनि निरन्तर फलोअपमा आइरहेका छन्। एक पटक संक्रमित भएको व्यक्तिलाई पूर्ण रूपमा निको हुन एक महिनासम्म लाग्ने गरेको छ,’ उनले भने।
डेंगीपछि कमजोरी र खान मन नलाग्ने समस्या लामो समयसम्म रहने भएकाले कतिपय बिरामी एक महिनासम्म सामान्य अवस्थामा फर्किन नसकेको उनको भनाइ छ।
सार्वजनिक बिदामा पनि ज्वरोका बिरामीको चाप
ओपीडी बन्द हुने सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्ने गरेको छ। सबै बिरामीको ल्याब परीक्षण नभए पनि परीक्षण गरिएका धेरैमा डेंगी संक्रमण देखिएको अस्पतालले जनाएको छ।
शय्या अभाव भएपछि अस्पतालले रगत परीक्षण, उपचार तथा औषधि वितरण गरेर बिरामीलाई घर पठाउने र नियमित फलोअपमा राख्ने गरेको छ।
स्वास्थ्यकर्मीका अनुसार निरन्तर वर्षा, सरसफाइको कमी र घर तथा कार्यस्थलमा पानी जम्ने अवस्थाले डेंगी फैलाउने लामखुट्टेको प्रजनन बढाएको छ। घरका छतमा पानी जम्न दिने, ड्रम खुला राख्ने तथा मोटर ग्यारेजमा टायर खुला छाड्दा त्यहाँ पानी जमेर लामखुट्टेको लार्भा उत्पादन हुने गरेको छ।
स्वास्थ्यकर्मीले घर तथा वरपर पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने, टायर तथा अन्य सामग्रीमा पानी जम्न नदिने र नियमित सरसफाइ गर्न आग्रह गरेका छन्।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, प्रमुख बने डा. विनोद राजभण्डारी
आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा फार्मेसीलाई नियमनभित्र समेट्न औषधि व्यवसायीको माग
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
‘आमा र शिशुको स्वास्थ्यका लागि ६ महिना सुत्केरी विदा आवश्यक’
WHO flags growing health workforce gap as workers and patients age
रोबोटिक सर्जरीदेखि HPV खोपसम्म : महिलाको स्वास्थ्यबारे डा. भगतसँग विशेष भिडियो कुराकानी
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल




प्रतिकृया दिनुहोस