नुवाकोटमा बाढी प्रभावितका लागि चार शय्याको आपतकालीन स्वास्थ्य केन्द्र सञ्चालन

नुवाकोट । भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन नुवाकोटमा चार शय्याको आपतकालीन स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।

विदुर नगरपालिका–५ पिपलटारमा स्थापना गरिएको स्वास्थ्य केन्द्रको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्घाटन गरे।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, त्रिशूली अस्पताल र जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको हो।

बाढीका कारण पुल बगाउँदा त्रिशूली अस्पतालसम्म सहज पहुँच प्रभावित भएपछि स्थानीय नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालन गरिएको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताए।

केन्द्रबाट बाढी प्रभावितसहित स्थानीय बिरामीलाई आधारभूत तथा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री मगरले विपद्का कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेर प्रदेश सरकारले उपलब्ध स्रोत र जनशक्ति परिचालन गर्ने बताए।

उनले विपद्को अवस्था जस्तोसुकै भए पनि आवश्यक व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सञ्चालन गरिएको बताए। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि आधारभूत उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने उनको भनाइ छ।

बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर राख्न आवश्यक जनशक्ति तथा स्रोत व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिने मुख्यमन्त्री मगरले बताए।

प्रतिकृया दिनुहोस
↑