क्यान्सर रोकथामका लागि स्याङ्जामा एचपीभी खोप अभियान

स्याङ्जा । स्याङ्जामा १ हजार ६ सय ६८ बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीका अनुसार कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय नजाने १० वर्ष पूरा भएका बालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो। अभियान मंगलबारदेखि स्थानीय तहअनुसार तोकिएका मितिमा सञ्चालन हुनेछ।

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाबाट लक्षित समूहका बालिका तथा किशोरीको तथ्यांक संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४०९ जना बालिका तथा किशोरीलाई खोप लगाइनेछ। यस्तै, पुतलीबजारमा २६८, गल्याङमा १९३, चापाकोटमा १४४ र भीरकोटमा १४१ जना रहेका छन्।

त्यसैगरी कालीगण्डकीमा १२३, अर्जुनचौपारीमा ९८, फेदीखोलामा ७७, आँधीखोलामा ७२, हरिनासमा ६२ र बिरुवामा ६० जना बालिका तथा किशोरीलाई एचपीभी खोप लगाइनेछ।

स्वास्थ्य कार्यालयका अनुसार बिरुवा गाउँपालिकामा असोज १३ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। पुतलीबजार, गल्याङ, चापाकोट र अर्जुनचौपारीमा असोज १४ देखि १६ गतेसम्म खोप लगाइनेछ।

वालिङ, भीरकोट, आँधीखोला र कालीगण्डकीमा असोज २० देखि २२ गतेसम्म, हरिनासमा असोज १६ गते तथा फेदीखोलामा असोज २२ देखि २३ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य अधिकृत मनिषकुमार महतोले बताए।

एचपीभी अर्थात् ह्युमन प्यापिलोमाभाइरस खोपले एचपीभी भाइरसबाट हुने संक्रमण तथा पाठेघरको मुखको क्यान्सरबाट बचाउन महत्वपूर्ण भूमिका खेल्छ। नेपाल सरकारले बालिका तथा किशोरीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निःशुल्क उपलब्ध गराउँदै आएको छ।

स्याङ्जामा सञ्चालन हुन लागेको यो तेस्रो चरणको एचपीभी खोप अभियान हो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑