कपिलवस्तुमा बृहत् रक्तदान, १४५ जनाले दिए रगत

कपिलवस्तु । राष्ट्रिय विपत्तिका समयमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा, रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सहआयोजना तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम गरिएको हो।

कार्यक्रममा १४५ जनाले रक्तदान गरेका थिए। उनीहरूबाट १४५ पोइन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

विपत्तिको समयमा आफ्नै पालिकाभित्र बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएकोमा शिवराज नगरपालिकाका मेयर अजय थापाले आयोजकप्रति आभार व्यक्त गरे।

‘रसुवामा आएको बाढीपछि मुलुक नै शोकमा डुबेको छ। यस्तो विपत्तिको समयमा रक्तदान गर्नु निकै पुण्यको काम हो,’ उनले भने।

रक्तदान गरेका मेयर थापाले ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात् गर्दै सबैले नियमित रक्तदान गर्नुपर्ने बताए।

कार्यक्रम संयोजक गोपाल बन्जाडेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। रक्तदाताको उत्साहजनक सहभागिताका कारण १४५ पोइन्ट रगत संकलन गर्न सफल भएको उनले बताए।

रक्तदान कार्यक्रममा युवा–युवती, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी तथा सामाजिक अभियन्तालगायत सहभागी भएका थिए।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष सन्तोष पौडेलले राष्ट्रिय विपत्तिका समयमा हुन सक्ने रक्त अभावलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बताए। युवालाई सामाजिक तथा मानवीय सेवामा जोड्ने उद्देश्यले क्लबले नियमित रूपमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको उनले बताए।

प्रतिकृया दिनुहोस