घाइतेको उपचार र उद्धार सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री बालेन शाह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री बालेन शाहले विपद्को यस कठिन घडीमा राज्य सम्पूर्ण साधनस्रोतका साथ नागरिकको साथमा रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आज अत्यन्तै भारी मन लिएर उभिरहेको बताउँदै बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिले देशलाई नै स्तब्द बनाएको बताएका हुन्।

बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको र ठूलो संख्यामा नागरिक बेपत्ता तथा घाइते भएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। उनले बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

शाहका अनुसार बाढीको खबर प्राप्त भएलगत्तै सरकारले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन सरकारी संयन्त्र परिचालन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद्को बैठक तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोजी र राहतलाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय गरिएको उनले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत हालसम्म २५० जनाभन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको शाहले बताएका छन्।

वीर र ट्रमा सेन्टरमा १०० बेड छुट्याइयो

घाइतेको सहज तथा निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले बताएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत सम्भावित घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरी घाइतेलाई प्राथमिक उपचार तथा उद्धार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको उनले जनाएका छन्।

त्यस्तै नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको शाहले बताएका छन्।

प्रभावित क्षेत्रमा राहत पुर्‍याउने तयारी

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।

यी क्षेत्रका प्रभावित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याउने तयारी गरिएको छ।

बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने शाहले बताएका छन्।

उनले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइने र रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन्। घाइतेको पूर्ण विवरण तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूसँगै छ, शाहले भनेका छन्।

विपद्को यस कठिन समयमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्न सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई समेत उनले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस