वर्षायामसँगै पाँचथरमा ज्वरोको प्रकोप, अस्पतालमा बिरामीको चाप बढ्यो

पाँचथर । वर्षायामसँगै मौसमी रोगको संक्रमण बढेपछि पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ। अन्य रोगका बिरामीको तुलनामा ज्वरोका बिरामी दैनिक बढी सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्।

जिल्ला अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्ड अधिकृत नवीन रेग्मीका अनुसार गत साउनमा मात्रै ९४० जना ज्वरोका बिरामीले अस्पतालमा उपचार गराएका छन्। यो जिल्ला अस्पतालको मात्रै तथ्याङ्क भएकाले जिल्लाका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीको सङ्ख्या अझ बढी हुन सक्ने रेग्मीले बताए।

अस्पतालमा डेङ्गी, स्क्रब टाइफस, भाइरललगायत विभिन्न प्रकारका ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। ज्वरोबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भइरहेको अस्पतालले जनाएको छ।

अधिकांश बिरामी उपचारपछि निको भएर घर फर्किने गरेका छन्। अस्पतालमा भर्ना भएका बिरामीसमेत तीनदेखि चार दिनको उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किने गरेको जनाइएको छ।

स्वास्थ्यकर्मीका अनुसार वर्षायाममा दूषित पानी तथा डेङ्गी फैलाउने लामखुट्टेका कारण विभिन्न प्रकारका ज्वरोको संक्रमण बढ्न सक्छ। त्यसैले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन र घरवरिपरि पानी जम्न नदिन स्वास्थ्य कार्यालय पाँचथरले आग्रह गरेको छ।

डेङ्गी फैलाउने लामखुट्टे मनसुन अन्त्यतिर अर्थात् भदौ र असोजमा बढी सक्रिय हुने भएकाले यस अवधिमा थप सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घरवरिपरि पानी जम्न नदिने तथा ज्वरो आएमा समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

स्वास्थ्य कार्यालयले ज्वरो, डेङ्गीलगायत मौसमी रोगको जोखिमबारे नागरिकलाई सचेत गराउन जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस