अमेरिकामा दादुरा संक्रमितको संख्या ३ हजार नाघ्यो, ९४ प्रतिशत खोपविहीन

काठमाडौं । अमेरिकामा यस वर्ष दादुरा रोगका पुष्टि भएका संक्रमितको संख्या तीन हजार नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) का अनुसार बिहीबारसम्म देशभर ३ हजार १३४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ।

यो संख्या सन् २०२५ भरि रिपोर्ट भएका २ हजार २८९ संक्रमितभन्दा निकै बढी हो। CDC का अनुसार सन् १९९१ पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण संख्या हो।

यस वर्ष पुष्टि भएका संक्रमितमध्ये ३ हजार ११८ जना अमेरिकाका ४७ राज्य तथा क्षेत्रबाट पहिचान भएका छन् भने १६ जना अन्तर्राष्ट्रिय आगन्तुक रहेका छन्। हालसम्म २४८ जना संक्रमित अस्पताल भर्ना भएका छन्, जुन कुल संक्रमितको करिब ८ प्रतिशत हो। यस अवधिमा ३८ वटा दादुरा प्रकोप समेत रिपोर्ट भएका छन्।

CDC का अनुसार पुष्टि भएका संक्रमितमध्ये करिब ९४ प्रतिशतले दादुराविरुद्धको खोप नलगाएको पाइएको छ। दादुराबाट जोगिन CDC ले दादुरा, गलफुलो र रुबेलाविरुद्धको एमएमआर खोपका दुई मात्रा लगाउन सिफारिस गरेको छ।

अमेरिकामा बालबालिकाको खोप दरसमेत घट्दै गएको छ। सन् २०२५–२६ को शैक्षिक वर्षमा बालबालिकामा एमएमआर खोप लगाउने दर ९२ दशमलव ४ प्रतिशतमा झरेको छ। सन् २०१९–२० मा यो दर ९५ दशमलव २ प्रतिशत थियो।

हाल करिब २ लाख ८० हजार बालबालिकासँग एमएमआर खोपको पूरा मात्रा लगाएको प्रमाणित अभिलेख छैन।

CDC का अनुसार कुनै समुदायमा ९५ प्रतिशतभन्दा बढी मानिसले दादुराविरुद्धको खोप लगाएको अवस्थामा सामुदायिक प्रतिरक्षाका कारण अधिकांश मानिस संक्रमणबाट सुरक्षित रहन्छन्। खोपको पहुँच र प्रयोगमा कमी आउँदा दादुरा पुनः फैलिने जोखिम बढ्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस
↑