मानिसमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले २७१ दिन काम गर्‍यो, बन्यो नयाँ कीर्तिमान

काठमाडौं । मानिसको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले २७१ दिनसम्म काम गरेको छ। अमेरिकी नागरिक टिम एन्ड्रुको शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौलाले नौ महिनासम्म काम गरेपछि यो हालसम्मकै लामो समयसम्म सफलतापूर्वक काम गरेको उदाहरण बनेको अमेरिकी चिकित्सकहरूले बताएका छन्।

अमेरिकाको मास जेनेरल ब्रिघम अस्पतालमा एन्ड्रुको शरीरमा आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि केही महिनासम्म उनी डायलेसिसबाट मुक्त भएका थिए।

एन्ड्रुका मिर्गौला मधुमेहका कारण काम नगर्ने अवस्थामा पुगेका थिए। ६६ वर्षको उमेरमा उनको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरूले उनलाई मानव मिर्गौला प्रत्यारोपणका लागि करिब सात वर्षसम्म कुर्नुपर्ने बताएका थिए।

सुँगुरको मिर्गौलाले २७१ दिनसम्म उनको शरीरमा काम गरेपछि भने त्यसले काम गर्न छाड्यो। त्यसपछि मानव मिर्गौला उपलब्ध नहुँदासम्म एन्ड्रुले पुनः डायलेसिस गर्नुपर्‍यो।

एन्ड्रुले सुँगुरको मिर्गौला प्रत्यारोपणले आफूलाई नयाँ आशा दिएको बताएका छन्। डायलेसिसबाट केही समय मुक्त भएर नयाँ जीवनको आशा गर्न पाएको उनको अनुभव छ।

मानव अंगको अभावमा नयाँ विकल्पको खोजी

मानव मिर्गौलाको अभाव बढ्दै गएपछि वैज्ञानिकहरूले अन्य प्रजातिका अंग मानिसमा प्रत्यारोपण गर्ने प्रविधि जेनोट्रान्सप्लान्टेसन मा अनुसन्धान गरिरहेका छन्।

अमेरिकामा प्रत्येक वर्ष करिब एक लाख मानिसलाई मिर्गौला प्रत्यारोपण आवश्यक पर्ने अनुमान छ। तर वार्षिक करिब २५ हजार जनाले मात्रै मिर्गौला प्रत्यारोपण पाउने गरेका छन्। बेलायतमा पनि प्रत्येक वर्ष करिब सात हजार मानिसलाई मिर्गौला प्रत्यारोपण आवश्यक पर्ने बताइएको छ।

चिकित्सक लियोनार्दो रियला मानव अंगको अभाव गम्भीर समस्या बन्दै गएको बताउँछन्। उनका अनुसार सुँगुरको मिर्गौलाले मानव मिर्गौलाको विकल्प खोजीमा आशा जगाएको छ।

किन सुँगुरको मिर्गौला प्रयोग गरिँदैछ?

वैज्ञानिकहरूले मानिसको शरीरमा प्रत्यारोपण गर्न सामान्य सुँगुरको अंग प्रयोग गर्न नमिल्ने बताएका छन्। मानिसको प्रतिरक्षा प्रणालीले सुँगुरको अंगलाई बाहिरी वस्तुका रूपमा पहिचान गरी गम्भीर प्रतिक्रिया जनाउन सक्छ।

त्यसैले प्रत्यारोपणका लागि विशेष रूपमा आनुवंशिक सुधार गरिएको सुँगुर विकास गरिएको छ। वैज्ञानिकहरूले युकाटन जातका साना सुँगुरका अंगलाई मानव शरीरसँग अनुकूल हुने गरी आनुवंशिक रूपमा सुधार गरेका छन्।

वैज्ञानिकहरूले यस्ता सुँगुरमा दर्जनौँ आनुवंशिक परिवर्तन गरेका छन्। यसको उद्देश्य सुँगुरको अंगलाई मानिसको प्रतिरक्षा प्रणालीले सहज रूपमा स्वीकार गर्ने बनाउनु हो।

प्रत्यारोपणका क्रममा चिकित्सकहरूले सुँगुरको मिर्गौलालाई एन्ड्रुको रक्तनलीसँग जोडिदिएका थिए। त्यसपछि मिर्गौलाले उनको रगत फिल्टर गर्ने काम गरेको थियो।

प्रत्यारोपणमा चुनौती कायमै

एन्ड्रुको शरीरले सुरुवाती चरणमा सुँगुरको मिर्गौलालाई पूर्ण रूपमा स्वीकार गरेको थिएन। चिकित्सकहरूले औषधिको प्रयोगमार्फत उनको प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राखेका थिए।

करिब छ महिनापछि मिर्गौलाका रक्तनलीमा समस्या देखिए पनि उपचारपछि अवस्था नियन्त्रणमा ल्याइएको थियो। पछि मिर्गौला असफल भए पनि त्यसमा एन्टीबडीले आक्रमण गरेको स्पष्ट प्रमाण भने फेला नपरेको चिकित्सकहरूले बताएका छन्।

यसअघि पनि मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपणको परीक्षण गरिएको थियो। तर पहिलोपटक प्रत्यारोपण गरिएका बिरामीको मृत्यु भएको थियो।

चिकित्सकहरूले एन्ड्रुको घटनाले क्लिनिकल जेनोट्रान्सप्लान्टेसनमा सम्भावना र चुनौती दुवै देखाएको बताएका छन्।

मानव मिर्गौलाको अभावमा तत्काल स्थायी विकल्पका रूपमा सुँगुरको मिर्गौला प्रयोग गर्ने अवस्था अझै आएको छैन। तर लामो समयसम्म काम गर्न सक्ने प्रमाणले भविष्यमा प्रत्यारोपणका लागि नयाँ विकल्प विकास गर्ने अनुसन्धानलाई थप बल दिएको छ।

बीबीसीबाट

प्रतिकृया दिनुहोस
↑