सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्दो, एक जनाको मृत्यु
सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। पछिल्लो एक सातायता संक्रमण बढेपछि एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि गरिएको परीक्षणमा उहाँमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको थियो।
खड्कालाई मधुमेहको समस्या समेत थियो। फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि दाङ हुँदै नेपालगन्ज रिफर गरिएको थियो। उपचारपछि घर फर्कने क्रममा बाटोमै उहाँको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए।
संक्रमण बढ्दै गएपछि शनिबार पनि एक जना बिरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। विशेषगरी दार्मा गाउँपालिका–३ मा ज्वरो आएका बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाका अनुसार दैनिक ज्वरोका बिरामी बढिरहेका छन्। परीक्षण गरिएका बिरामीमध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस संक्रमण पुष्टि भइरहेको छ। अन्य वडामा समेत व्यापक परीक्षण गरिए संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख बस्नेतले संक्रमण नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी भइरहेको बताए।
गत वर्ष पनि दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण व्यापक रूपमा फैलिएको थियो। गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो।
कसरी सर्छ स्क्रबटाइफस?
चिकित्सकका अनुसार स्क्रबटाइफस संक्रमित माइटको टोकाइबाट सर्ने संक्रामक रोग हो। ओरिएन्सिया सुसुगामुसी नामक जीवाणुका कारण हुने यो संक्रमणका माइटहरू झाडी, खेतबारी, वनजंगल तथा घरवरपरका घाँस र झाडी भएका स्थानमा पाइन्छन्।
संक्रमणबाट बच्न खेतबारी, वनजंगल वा झाडीमा जाँदा शरीर ढाकिने कपडा लगाउन र सम्भव भएसम्म बुट प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। भुइँमा नबस्ने, अग्लो स्थानमा बस्ने वा सुत्ने तथा घरवरपरका घाँस र झाडी नियमित रूपमा सफा राख्न पनि आग्रह गरिएको छ।
ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस