भरतपुर अस्पतालमा अनलाइनबाटै ल्याब रिपोर्ट हेर्न सकिने

चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । अस्पतालको वेबसाइटमार्फत बिरामीले आफ्नो ल्याब रिपोर्ट घरबाटै हेर्न सक्ने व्यवस्था गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने व्यवस्था छ । उपचार शुल्क तिर्दा प्राप्त हुने बिलमै युजरनेम र पासवर्ड उल्लेख हुने भएकाले सोही विवरण प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशाला रिपोर्ट अनलाइनबाट हेर्न तथा प्रिन्ट गर्न सक्नेछन् ।

त्यसैगरी अस्पतालमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्टसमेत लिन सकिने व्यवस्था गरिएको छ । यसले बिरामीलाई टिकट तथा रिपोर्ट लिन काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउने अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा दैनिक करिब तीन हजार ८०० बिरामी बहिरङ्ग सेवाका लागि आउने गर्छन् । सेवा सुविधामा सुधार हुँदै गएसँगै अस्पतालमा बिरामीको चाप पनि बढिरहेको डा. बगालेले बताए ।

६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गर्छन् ।

स्वास्थ्य बीमामार्फत सेवा प्रदान गर्ने अस्पतालमध्ये भरतपुर अस्पताल अग्रणी मानिन्छ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत उपचार गराउन भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या क्रमशः बढ्दै गएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस