बाढीपछि हैजा, लेप्टोस्पाइरोसिस र डेंगुको जोखिम, सरुवा रोग विशेषज्ञले के भने?

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमणको जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन्।

दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि, सरसफाइको अभाव र विस्थापित नागरिक एउटै स्थानमा बस्नुपर्ने अवस्थाका कारण बाढीपछि विभिन्न सरुवा रोग फैलिन सक्ने जोखिम बढ्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

टेकु अस्पतालमा कार्यरत डा. पुनका अनुसार बाढीमा मृत्यु भएका मानिस तथा पशुचौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिनेभन्दा पनि शवमा आकर्षित हुने मुसा, किराफट्याङ्ग्रा तथा अन्य जीवजन्तुका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढी हुन्छ।

बाढी प्रभावित क्षेत्रमा शव लामो समयसम्म व्यवस्थापन हुन नसक्दा मुसा तथा अन्य जीवजन्तु आकर्षित हुन सक्ने र संक्रमित मुसाको पिसाबलगायतका माध्यमबाट लेप्टोस्पाइरोसिस फैलिन सक्ने उनले बताए। त्यस्तै स्क्रब टाइफसजस्ता कीटजन्य रोगको जोखिम पनि बढ्न सक्ने उनको भनाइ छ।

‘शवबाट नै अचानक संक्रमण फैलिनेभन्दा पनि मानिस वा पशुको शवमा विभिन्न प्रकारका जनावर, मुसा वा किराहरू आकर्षित हुन्छन्। त्यस्ता स्रोतसँग विस्थापित तथा उद्धारमा खटिएका व्यक्तिको सम्पर्क बढ्दा संक्रमणको जोखिम हुन्छ,’ उनले भने।

दूषित पानी र लामखुट्टेबाट रोगको जोखिम

डा. पुनका अनुसार बाढीपछि शवबाट मात्र संक्रमण फैलिन्छ भन्ने बुझाइ सही होइन। प्रभावित क्षेत्रमा सुरक्षित पानी, सरसफाइ, शौचालय र खानेकुराको उचित व्यवस्थापन हुन नसके पानीजन्य रोग फैलिने जोखिम बढी हुन्छ।

सुरक्षित खानेपानीको अभावमा हैजा, झाडापखाला, टाइफाइड तथा कमलपित्तजस्ता रोग देखिन सक्ने उनले बताए। त्यस्तै पानी जम्ने अवस्था बनेमा लामखुट्टेको संख्या बढेर डेंगु र मलेरियाको जोखिमसमेत बढ्न सक्छ।

उनका अनुसार बाढी आउनुअघि नै झाडापखाला र ज्वरोका बिरामी बढिरहेका थिए भने पछिल्लो समय लामखुट्टेको संख्या पनि बढेको छ। डेंगुका बिरामीसमेत फाट्टफुट्ट देखिन थालेकाले आगामी दिनमा स्वास्थ्य जोखिम थप चुनौतीपूर्ण बन्न सक्ने उनले बताए।

अस्थायी आश्रयस्थलमा सरसफाइमा विशेष ध्यान

बाढीपछि विस्थापित नागरिकहरू ठूलो संख्यामा एउटै अस्थायी आश्रयस्थलमा बस्नुपर्ने भएकाले पर्याप्त शौचालय र सरसफाइको व्यवस्था हुन नसके संक्रमण फैलिने जोखिम अझ बढ्ने डा. पुनले बताए।

कतिपय संक्रामक रोगमा सुरुवाती चरणमा लक्षण नदेखिए पनि संक्रमित व्यक्तिको दिसा तथा पिसाबबाट रोगका जीवाणु बाहिर निस्कन सक्ने भएकाले सामूहिक बसोबासमा संक्रमण फैलिन सक्ने उनले बताए।

‘कतिपय संक्रामक रोगमा लक्षण नदेखिए पनि मानिसको दिसा–पिसाबबाट संक्रमण निस्किरहेको हुन सक्छ। त्यसैले शौचालय र सरसफाइको उचित व्यवस्था अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।

बाढी प्रभावित क्षेत्रमा साबुनपानीको पर्याप्त व्यवस्था गर्न सके संक्रमणको जोखिम कम गर्न सकिने उनले बताए। खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुनुपर्नेमा उनले जोड दिए।

बालबालिका र गर्भवतीलाई विशेष प्राथमिकता

विपद्का बेला बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने डा. पुनले बताए।

बालबालिकामा सामान्य संक्रमणसमेत गम्भीर बन्न सक्ने भएकाले सुरक्षित खानेकुरा, सफा पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए। गर्भवती महिलाका लागि औषधिसँगै पोषणयुक्त खानेकुरा र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

‘गर्भवती महिलालाई एन्टिबायोटिक मात्र दिएर हुँदैन। उहाँहरूलाई आवश्यक पोषणयुक्त खानेकुरा र स्वास्थ्य सेवाको सुविधा पनि दिनुपर्छ। बालबालिकालाई संक्रमणबाट सुरक्षित राख्नुपर्छ र जथाभावी खानेकुरा खान दिनु हुँदैन,’ उनले भने।

झाडापखाला वा ज्वरो आए तत्काल उपचार

बाढी प्रभावित क्षेत्रमा कसैलाई झाडापखाला, ज्वरो वा अन्य संक्रमणका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुर्‍याएर उपचार गर्नुपर्ने डा. पुनले बताए।

संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा रोग फैलिन नदिन प्रभावित क्षेत्रमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने उनले सुझाव दिए।

‘झाडापखाला लाग्यो भने पनि तुरुन्त उपचारमा लैजानुपर्छ, ताकि सो व्यक्तिबाट अरूमा रोग नफैलियोस्। प्रभावित क्षेत्रमा समयमै औषधिको उपलब्धता हुनुपर्छ,’ उनले भने।

प्रभावित क्षेत्रमा कति नागरिक विस्थापित छन् भन्ने आधारमा स्वास्थ्यकर्मी र औषधि परिचालन गर्नुपर्ने उनले बताए। स्वास्थ्य सेवा व्यवस्थापन गर्दा स्थानीय वातावरणको अवस्थासमेत अध्ययन गर्नुपर्ने उनको सुझाव छ।

तीन तहका सरकारबीच समन्वय आवश्यक

बाढीपछि स्वास्थ्य जोखिम नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको डा. पुनले बताए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी र गैरसरकारी निकायबीच समन्वय गरी कुन क्षेत्रमा कति सहयोग आवश्यक छ भन्ने मूल्याङ्कन गरेर स्वास्थ्य सेवा व्यवस्थापन गर्नुपर्ने उनले बताए।

‘तीन तहका सरकारसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य निकायबीच पनि समन्वय आवश्यक छ। कुन ठाउँमा कति सहयोग चाहिन्छ भन्ने आकलन गरेर त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ, उनले भने।

विपद्पछि स्वास्थ्यलाई पनि प्राथमिकता

विपद्को समयमा गाँस, बास र कपाससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने डा. पुनले बताए। व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी र खानेकुरामा सामान्य सावधानी अपनाउन सके धेरै संक्रमणबाट बच्न सकिने उनको भनाइ छ।

पानी जम्ने स्थानमा लामखुट्टेको वृद्धि रोक्ने, सुरक्षित खानेपानीको व्यवस्था गर्ने, पर्याप्त शौचालय बनाउने, साबुनपानी उपलब्ध गराउने र बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्‍याउने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

बाढीका कारण खोजी, उद्धार र राहतमा राज्यका संयन्त्र केन्द्रित भइरहेका बेला नियमित स्वास्थ्य सेवामा कमी आउन नदिन पनि सचेत हुनुपर्ने उनले बताए।

उनका अनुसार बाढीपछि देखिन सक्ने पानीजन्य, कीटजन्य र हावाबाट सर्ने रोगको जोखिमबारे अहिले नै अनुमान गरी निगरानी, रोकथाम र उपचारको तयारी अघि बढाउन आवश्यक छ।

प्राकृतिक विपद् अप्रत्याशित भए पनि त्यसपछि आउन सक्ने स्वास्थ्य जोखिमको पूर्वानुमान गरी आवश्यक तयारी गर्न सकिने भएकाले सम्बन्धित निकायले तत्कालै रोग निगरानी र रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने डा. पुनको सुझाव छ।

प्रतिकृया दिनुहोस