नेपालदेखि भारतसम्म थकाली स्वादको चर्चा, गुरुग्राममा जिम्बुको नयाँ शाखा

काठमाडौं । नेपाली थकाली खानाले अब भारतीय बजारमा पनि औपचारिक उपस्थिति जनाउने भएको छ । काठमाडौंमा लोकप्रिय ब्रान्डका रूपमा स्थापित जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउँदै नेपाली रैथाने खानालाई विश्व बजारमा पु¥याउने अभियान सुरु गरेको हो।
गुरुग्रामको सेक्टर–६५ स्थित एम–३–एम व्यावसायिक परिसरमा साउन १५ गतेदेखि सञ्चालनमा आउने रेस्टुरेन्टलाई कम्पनीले केवल नयाँ व्यापारिक शाखाका रूपमा नभई नेपाली खाना, संस्कृति र आतिथ्यको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने केन्द्रका रूपमा विकास गर्न लागेको जनाएको छ।

जिम्बु थकालीका परिकल्पाकार विवेकमान शेरचनका अनुसार नेपाली परिकारप्रति भारतीय ग्राहकको बढ्दो रुचि र नेपाल भ्रमणपछि थकाली स्वादको खोजी गर्ने ग्राहकको संख्या वृद्धि भएकाले भारतबाट अन्तर्राष्ट्रिय विस्तारको सुरुआत गरिएको हो।


सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल काठमाडौंका कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालमा चार शाखा सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइसकेको जिम्बु थकालीले भारतबाट सुरु भएको अन्तर्राष्ट्रिय विस्तारलाई आगामी वर्षहरूमा अन्य देशसम्म पु¥याउने रणनीति बनाएको छ।


हरियाणा राज्यस्थित गुरुग्राममा सञ्चालन हुने रेस्टुरेन्टमा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी, चटामरी, बारा, मःमः, सेकुवा, गुन्द्रुकको झोल, जुजु धौबाट बनाइने मिठाइ र खुवा यमरीलगायत परम्परागत नेपाली परिकार पस्किने तयारी गरिएको छ। अन्तर्राष्ट्रिय ग्राहकको स्वादलाई ध्यानमा राख्दै केही नयाँ शैलीका परिकार पनि मेनुमा समावेश गरिएको  कम्पनीले जनाएको छ।  

साथै परिकारको मौलिक स्वाद जोगाउन आवश्यक जिम्बु, टिमुर, फापरलगायतका नेपाली मसला नेपालबाटै निर्यात गरिनेछ भने ताजा सामग्री स्थानीय बजारबाट व्यवस्थापन गरिने कम्पनीले जनाएको छ। यसले नेपाली कृषि उत्पादनलाई विदेशी बजारसँग जोड्ने अवसरसमेत सिर्जना गर्ने विस्वास गरिएको छ।


त्यस्तै रेस्टुरेन्टको भित्री सजावटमा नेपाली काष्ठकला, परम्परागत झ्याल, थकाली संस्कृतिसँग सम्बन्धित सामग्री तथा नेपाली वास्तुकलाका विशेषता समेटिएका छन्। आधुनिक सुविधा र नेपाली पहिचानको संयोजनमार्फत ग्राहकलाई नेपालकै अनुभव दिलाउने लक्ष्य कम्पनीको छ।


करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने उक्त शाखामा नेपाली कफी ब्रान्ड हिमालयन जाभाको आउटलेट पनि रहनेछ। व्यवस्थापन प्रणालीका लागि नेपाली कम्पनी आईएमएस सफ्टवेयरको प्रविधि प्रयोग गरिनेछ, जसलाई कम्पनीले अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डबीचको सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस
↑