कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिँदै

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गर्ने भएको छ।

सङ्घले विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्न लागेको हो। परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

सङ्घका अनुसार अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई उपचारको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ। परियोजनाको शुभारम्भ आइतबार सुर्खेतमा गरिनेछ।

कर्णालीमा आँखा तथा श्रवण स्वास्थ्य समस्याको अवस्था गम्भीर रहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपाल नेत्रज्योति सङ्घले सन् २०२५ मा गरेको अध्ययनअनुसार सुर्खेत र सल्यानका एक हजार ९४६ जनामध्ये ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या देखिएको थियो। त्यस्तै, १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण क्षमता ह्रास भएको पाइएको थियो।

यसैगरी, सन् २०१९ मा गरिएको अन्धोपनसम्बन्धी सर्वेक्षणले कर्णालीमा ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो। भौगोलिक विकटता, आर्थिक कठिनाइ, सीमित स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवाको अभाव आँखा तथा कान उपचारका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

सङ्घले यसअघि सन् २०२० देखि २०२५ सम्म सिबिएमसँगको सहकार्यमा कर्णालीमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममार्फत सात हजारभन्दा बढी बिरामीको आँखा तथा कानसम्बन्धी निःशुल्क शल्यक्रिया गरिएको थियो।

सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले अघिल्लो कार्यक्रमबाट प्राप्त अनुभव र उपलब्धिलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी रूपमा सेवा विस्तार गर्न लागिएको बताए। ‘सम्भव जीवन’ परियोजनाले उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न योगदान पुर्‍याउने उनको भनाइ छ।

तीन लाखभन्दा बढीको निःशुल्क परीक्षण, पाँच हजारको शल्यक्रिया

परियोजनाका कार्यक्रम व्यवस्थापक दीपक जोशीका अनुसार दोस्रो चरणमा तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, पाँच हजारभन्दा बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ।

विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ।

परियोजनाले समुदायस्तरमा आँखा तथा कान स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै रोग पहिचान, उपचार तथा थप विशेषज्ञ सेवाका लागि बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने (रेफरल) प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यसमेत राखेको छ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई प्राथमिकता दिइनेछ।

सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी परियोजना सञ्चालन गर्न लागिएको बताए। उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदायस्तरमै विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गरिने उनको भनाइ छ।

आर्थिक अवस्था वा भौगोलिक कठिनाइका कारण कुनै पनि नागरिक आँखा तथा कान उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको सङ्घले जनाएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑