मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने

काठमाडौँ। मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति तथा अन्धोपनबाट बच्न सकिने नेत्र विशेषज्ञले बताएका छन् ।

नेत्र विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार नियमित आँखाको परीक्षण गराउनु आवश्यक छ । मधुमेहले आँखाको पर्दा (रेटिना) मा रहेका रक्तनलीमा क्षति पुर्‍याउन सक्ने भएकाले समयमै परीक्षण र उपचार गरे दृष्टि गुम्ने जोखिम कम गर्न सकिने उनले बताए ।

डायबेटिक रेटिनोप्याथी मधुमेहका कारण आँखाको पर्दामा हुने क्षति हो । रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी रहँदा रेटिनाका सूक्ष्म रक्तनलीमा असर पुग्छ । समयमै पहिचान र उपचार नभए यसले दृष्टि कमजोर बनाउने तथा स्थायी अन्धोपनसमेत निम्त्याउन सक्छ ।

यस रोगको सुरुआती अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्ने भएकाले दृष्टिमा समस्या नभए पनि मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराउनुपर्ने डा. थापाले बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार डायबेटिक रेटिनोप्याथी दृष्टि कमजोर हुने तथा अन्धोपनको प्रमुख कारणमध्ये एक हो । विश्वभर करिब ३९ लाख मानिसमा यसका कारण टाढाको दृष्टि कमजोर हुने वा दृष्टिविहीनताको समस्या देखिएको छ भने १० करोड ३० लाखभन्दा बढी वयस्क यस अवस्थाको कुनै न कुनै रूपबाट प्रभावित छन् ।

मधुमेहको जोखिम कम गर्न स्वस्थ आहार, नियमित शारीरिक गतिविधि, सन्तुलित तौल कायम राख्ने र सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानी महत्त्वपूर्ण हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

मधुमेह भएका व्यक्तिले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुका साथै चिकित्सकको सल्लाहअनुसार जीवनशैली व्यवस्थापन र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने विशेषज्ञको सुझाव छ । विशेषगरी मधुमेह पहिचान हुनासाथ आँखाको परीक्षण गराउनु र त्यसपछि चिकित्सकले सुझाएको समयावधिमा परीक्षण दोहोर्‍याउनु दृष्टि सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

↑