गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै पनि बहाना स्वीकार्य नहुने बताएका छन् । उनले विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन तत्काल सुरु गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको अगुवाइमा कैलालीको अत्तरियामा आयोजित स्वास्थ्य युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले लामो सङ्घर्ष र प्रयासपछि स्थापना भएको विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।

सङ्घीय सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौताका कारण विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन नहुने हो कि भन्ने आशङ्का बढेको उल्लेख गर्दै उनले सरकारले त्यसलाई स्पष्ट पार्नुपर्ने धारणा राखे ।

गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने सुदूरपश्चिमवासीको चाहना पूरा गर्न विश्वविद्यालय सञ्चालन आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको भौगोलिक अवस्था र पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचसम्बन्धी समस्यालाई ध्यानमा राखेर बैतडीको खोडपे र डोटीको बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय भएको जानकारी दिए । त्यसैगरी, दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए ।

नसर्ने रोग र मानसिक स्वास्थ्यलगायतका चुनौती बढ्दै गएकाले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको पनि उनले बताए ।

स्वास्थ्य परीक्षणदेखि विशेषज्ञसँग परामर्शसम्म

स्वस्थ जीवनशैली प्रवर्द्धन, स्वास्थ्य सचेतना अभिवृद्धि तथा रोगको समयमै पहिचान गर्ने उद्देश्यले कैलालीको गोदावरीमा पाँचदिने ‘स्वास्थ्य युवा महोत्सव–२०८३’ आयोजना गरिएको छ । मङ्सिर ६ गतेसम्म सञ्चालन हुने महोत्सवको नारा ‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ रहेको छ ।

महोत्सवमा स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष संवाद, स्वास्थ्य परामर्श तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले जानकारी दिए ।

किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्म नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या र अस्वस्थ जीवनशैलीका कारण स्वास्थ्य चुनौती बढ्दै गएकाले समुदायस्तरमै सही स्वास्थ्य जानकारी र परामर्श पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।

महोत्सवमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, कुलत तथा दुर्व्यसन नियन्त्रण, महिला तथा किशोरी स्वास्थ्य, पोषण, खानपान र स्वस्थ जीवनशैलीलगायत विषयमा विशेषज्ञ चिकित्सकसँग अन्तरक्रिया गरिनेछ । वरिष्ठ मनोचिकित्सक, मनोपरामर्शदाता, क्लिनिकल साइकोलोजिस्ट तथा जनस्वास्थ्य विशेषज्ञले परामर्श दिने कार्यक्रम रहेको छ ।

त्यस्तै, किशोरी तथा महिलाको प्रजनन स्वास्थ्य, महिनावारीसम्बन्धी समस्या, हर्मोनको गडबडी, थाइराइड, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस), गर्भावस्था र रजोनिवृत्तिसम्बन्धी विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ र इन्डोक्राइनोलोजिस्टसँग छलफल गरिनेछ ।

उमेर समूहअनुसार स्वास्थ्य समस्या पहिचान र समाधानका लागि छुट्टाछुट्टै परामर्शको व्यवस्था गरिएको आयोजकले जनाएको छ । किशोरकिशोरीलाई शारीरिक विकास, महिनावारी र रक्तअल्पताबारे जानकारी दिइनेछ भने महिलालाई प्रजनन स्वास्थ्य, हर्मोनसम्बन्धी समस्या, तनाव व्यवस्थापन र रजोनिवृत्तिबारे परामर्श दिइनेछ ।

महोत्सवमा पोषणविद्, मेडिसिन विशेषज्ञ, पेट तथा पाचन रोग विशेषज्ञ र जनस्वास्थ्य विशेषज्ञले सन्तुलित आहार, कुपोषण, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोग तथा पाचन प्रणालीसम्बन्धी समस्या र रोकथामका उपायबारे जानकारी दिनेछन् ।

यसका अतिरिक्त आँखाको परीक्षण तथा परामर्श, दन्त परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपीभी–डीएनए तथा भिआइए विधिबाट परीक्षण गर्न नमुना सङ्कलन गरिनेछ । योगसम्बन्धी परामर्शका साथै अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑