ॐ हस्पिटलको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन

काठमाडौं । काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन भएका छन्।

अस्पतालको शनिबार रमादा होटलमा सम्पन्न ३०औँ वार्षिक साधारण सभाले डा. श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष डा. श्रेष्ठले अस्पतालमा आयोजित औपचारिक समारोहबीच पदभार ग्रहण गरेका छन्।

नयाँ सञ्चालक समितिका सदस्यहरूमा निवर्तमान अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, सरला रिजाल, डा. गिसुप निख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की र प्रा. डा. जागेश्वर गौतम रहेका छन्।

पदभार ग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष डा. श्रेष्ठले अस्पतालप्रति आम नागरिकको विश्वास कायम राख्दै स्वास्थ्य सेवालाई थप आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले आधुनिक प्रविधिको उच्चतम प्रयोग, दक्ष जनशक्तिको परिचालन र बिरामीमैत्री वातावरण निर्माण गरी सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो नेतृत्वको मुख्य प्राथमिकता हुने बताए। साथै संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै अस्पताललाई नयाँ उचाइमा पुर्‍याउने बताए।

सो अवसरमा निवर्तमान अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नवनियुक्त अध्यक्षसहित नयाँ सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना दिए। आफ्नो कार्यकालमा सहयोग गर्ने शेयरधनी, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै उनले नयाँ नेतृत्वमा अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर र संस्थागत विकासमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा प्रमुख वित्त अधिकृत धुर्व प्रसाद सुवेदीले नवनिर्वाचित अध्यक्ष र सञ्चालक समितिलाई बधाई तथा शुभकामना दिएका थिए।

त्यसैगरी, अस्पताल कर्मचारी युनियनका संस्थापक संरक्षक केशव प्रसाद चौलागाईं तथा युनियनका अध्यक्षले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै व्यवस्थापन र कर्मचारीबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा अस्पतालका सञ्चालक, उच्च व्यवस्थापनका अधिकारी तथा कर्मचारी युनियनका पदाधिकारीहरूको उपस्थिति थियो। अस्पताल व्यवस्थापनले स्थापनाकालदेखि निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने शेयरधनी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस
↑