वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौं महानगरले ल्याउँदै २७ रणनीतिक कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि २७ वटा रणनीतिक क्षेत्र समेटेर कार्यक्रम अघि बढाउने भएको छ ।

धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो प्रवर्द्धन, हरियाली विस्तार तथा प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार गरिएको छ ।

कार्ययोजनामा सडकको धुलो, सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार तथा जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ ।

वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले साझा प्रयासबाट यसको जोखिम घटाउने लक्ष्य राखिएको राईले बताए । महानगरले नसर्ने रोग तथा चोटपटकबाट नागरिकलाई जोगाउन प्रतिबद्ध सहरहरूको अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध भएर विश्व स्वास्थ्य सङ्गठन तथा ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

कार्ययोजनाले वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत महानगरका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गरिनेछ ।

प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ को पुनरवलोकन गर्नुका साथै विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गरिने योजना छ । विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिको प्रयोगलाई समेत प्रोत्साहन गरिनेछ ।

वायु प्रदूषण नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन महानगरका ३२ वटै वडा कार्यालयलाई विषयगत जिम्मेवारी दिइएको छ । यातायात तथा सडक सुरक्षा, सार्वजनिक निर्माण, उद्यान तथा हरियाली प्रवर्द्धन, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि विभागलगायतलाई कार्ययोजना कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।

महानगरपालिकाका अनुसार कार्ययोजनामा समेटिएका कार्यक्रम केही तत्काल तथा निरन्तर, केही महिनाभित्र, केही एक वर्षभित्र र केही दुईदेखि पाँच वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वास, मुटु तथा रक्तनलीसम्बन्धी रोग र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले महानगरको यो योजनाले प्रदूषण न्यूनीकरणसँगै नागरिकको स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

↑