रोयल फर्मास्युटिकल्स ओम मेगाश्रीमा समाहित हुने, स्वाप रेसियाे तय, बोलायो साधारणसभा

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्त (एक्वाएयर)गर्ने भएको छ।

ओम मेगाश्रीसँग समाहित हुन रोयल फर्मास्युटिकल्सले यही मंसिर २६ मा प्रथम वार्षिक साधारणसभा बोलाएको छ। रोयलको सञ्चालक समितिको हालैको वैठकले ओम मेगाश्रीसँग समाहित हुन साधारणसभा बोलाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार रोयलले पब्लिक लिमिटेडमा परिणत भएपछि पहिलो वार्षिक साधारणसभाबाट पारित गरेर औपचारिक रुपमा ओम मेगाश्रीमा समाहित हुन लागेको हो। साधारणसभाले पारित गरेपछि मर्जको प्रक्रिया अघि बढ्ने छ।

ओम मेगाश्रीको ०.५७४४ कित्ताबराबर रोयलको १ः०५७४४ कित्ता हुनेगरि सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ। साधारणसभाले सोही स्वाप रेसियोलाई पारित गर्नेछ।

सभाले ओम मेगाश्रीले प्राप्त गर्नेसम्बन्धमा भएको समझदारी (एमओयू) मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति दायित्व मूल्यांकन(डीडीए) प्रतिवेदन र अन्तिम सम्झौतापत्रलाई अनुमोदन गर्ने रोयलले जनाएको छ।

सम्झौतापछि रोयलको सम्पूर्ण चलअचल सम्पत्तिका साथै दायित्व ओम मेगाश्रीमा सर्ने भएको छ।

उत्पादन क्षमता बढाएर बजारमा झनै बलियो उपस्थिति बनाउन दुई औषधी उद्योग एक अर्कामा समाहित हुने भएका छन्। ओम मेगाश्री नेप्सेमा सूचिकृत हुने मुलुककै पहिलो औषधि उद्योग हो।

हाल रोयलको कूल पुँजी ५६ करोड ४० लाख रुपैयाँ छ। यस्तै ओम मेगाश्री फर्मास्युटिकल्सको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ।रोयल नारायणगढमा र ओम मेगाश्री चितवकै जुगेडीमा रहेको छ। दुबै औषधी उद्योग नजिकै रहेका छन्।

ओम मेगाश्री उत्पादन क्षमता विस्तारको क्रममा रहेको र सबै औषधी एउटै प्लान्टबाट उत्पादन गर्न नपाइने भएकाले फरक फरक एरियामा हुनुपर्ने व्यस्थाअनुसार रोयललाई एक्वाएर गर्न लागेको हो।

नयाँ भवन र प्लान्ट स्थापना गर्न पाँच वर्षसम्म लाग्न सक्ने भएकाले प्राप्ति गर्न सहज हुने देखिएको ओम मेगाश्रीका अध्यक्ष अर्जुन श्रेष्ठले केही समयअघि नेपाल क्लिक्सलाई बताएका थिए।

उनका अनुसार, रोयल र ओम मेगाश्रीको औषधी उत्पादन एउटै किसिमको भएकाले उसको जोड्दा बजार बढ्ने छ।

रोयलसँग भएको ४४ वटा उत्पादन ओम मेगाश्रीसँग छैन्। त्यसैले उक्त कारखानाबाट नयाँ औषधी उत्पादन गर्न पाइने भएकाले एक्वाएरमा जान लागेको उनले स्पष्ट पारेका थिए।

ओम मेगाश्री फर्मास्युटिकल्सले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्ल्यूएचओ जीएमपी) इजाजत (लाइसेन्स) प्राप्त गरेको छ। उद्योगले यही साउन २२ मा डब्ल्यूएचओ जीएमपी लाइसेन्स पाएको हो।

लाइसेन्स प्राप्तीबाट ओम मेगाश्रीका औषधिहरूको गुणस्तर प्रति विश्वास बढ्ने, बजारमा उद्योगका औषधिको प्रतिष्ठा र ब्राण्ड मूल्य बढ्ने सरकारी बोलपत्र (टेन्डर) तथा संस्थागत बिक्रीको अवसर बढ्ने उद्योगको भनाई छ।

भविष्यमा विदेशमा औषधि निर्यात गर्ने आधार बलियो हुने विश्वास ओम मेगाश्रीको छ। यस्तै विदेशी कम्पनीहरुसँग सहकार्य तथा लाइसेन्सिङको अवसर बढ्ने र उत्पादन क्षमताको राम्रो उपयोग गरी बिक्री, नाफा तथा कम्पनीको मूल्यांकन बढाउन सहयोग पुर्याउने जानकारी उद्योगले दिएको छ।

आइ एण्ड इयर ड्रप र भेट उत्पादन विस्तारका साथै कम्पनीको वृद्धि एवम विकासका निम्ति आवश्यक योजना र उचित कार्यान्वय प्रक्रिया अगाडि बढाएको कम्पनीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑