काठमाडौं धाउनुपर्ने बाध्यता घटाउने लक्ष्यसहित सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले MD, MS र MDS उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। विशेषज्ञ चिकित्सकको उपलब्धता बढेसँगै नागरिकले उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा २०८ जना खटाइएको छ। कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना चिकित्सक परिचालन गरिएको छ।

खटाइएका ८३८ विशेषज्ञ चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका छन्। संघीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था रहेको छ। यसबाट स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार गरी नागरिकलाई आफ्नै क्षेत्रमा उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ। बाँकी ३२७ जना विशेषज्ञ चिकित्सक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएको छ।

विशेषज्ञ चिकित्सकको परिचालनबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवाहरू थप सुदृढ हुने अपेक्षा गरिएको छ। विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा विशेषज्ञ जनशक्तिको उपलब्धता बढ्दा उपचारमा सहजता आउने विश्वास गरिएको छ।

विशेषज्ञ चिकित्सकको अभाव रहेका दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा जनशक्ति परिचालन गर्न सके उपचारका लागि लामो दूरी यात्रा गर्नुपर्ने, समय र खर्च बढी लाग्ने तथा जटिल अवस्थामा उपचार ढिलाइ हुने समस्या कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सातै प्रदेशमा विशेषज्ञ चिकित्सकको उपलब्धता विस्तारसँगै स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने र स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने सरकारको प्रयासका रूपमा यसलाई हेरिएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑