जर्मन सहयोगमा बनेको स्वास्थ्यचौकी भवन हस्तान्तरण

काठमाडौं । जर्मन सरकारको करिब रु आठ करोड आर्थिक सहयोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा निर्माण भएको झौखेल स्वास्थ्यचौकीको नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उपसचिव विशाल सुवेदीले भवन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीलाई भवनको साँचो हस्तान्तरण गरे।

तीन रोपनी दुई आना क्षेत्रफलमा निर्माण भएको साढे दुईतले भवनमा १२ वटा कोठा छन्। दुई वर्ष छ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन आज औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

भवन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खत्रीले नयाँ भवनबाट सञ्चालन हुने स्वास्थ्य सेवाले झौखेल तथा आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य परीक्षण र उपचारमा सहजता हुने बताए। उनले स्वास्थ्यचौकीबाट नगर अस्पतालसम्म पुग्ने सडक निर्माणसमेत सुरु भएको जानकारी दिए।

चाँगुनारायण नगरपालिका–३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले यसअघि दुई कोठे साँघुरो भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकीले अब सुविधासम्पन्न भवन पाएको बताए।

उनका अनुसार २०७८ सालमा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको थियो। त्यसपछि जर्मन सरकार र नेपाल सरकारबीच २०८० सालमा सम्झौता भई निर्माण प्रक्रिया अघि बढाइएको थियो।

भवन निर्माण सम्पन्न भएको दुई वर्षपछि हस्तान्तरण हुनुपर्नेमा प्रक्रिया पूरा हुन थप छ महिना लागेको वडाध्यक्ष धिमालले बताए। जर्मन सरकारले स्वास्थ्यचौकीका लागि आवश्यक प्रयोगशाला सामग्री, फर्निचर र एक्सरे मेसिनलगायत उपकरणको बजेटसमेत व्यवस्था गरेकाले स्वास्थ्य मन्त्रालयलाई छिटो खरिद गरी हस्तान्तरण गर्न उनले आग्रह गरे।

नयाँ भवनमा चिकित्सकसहितको बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गरी सामान्य रोगको उपचार गर्ने र जटिल अवस्थाका बिरामीलाई अन्य अस्पतालमा रिफर गर्ने लक्ष्य रहेको उनले बताए। यसका लागि चिकित्सक व्यवस्थापन गर्न हाललाई रु २० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ।

त्यस्तै, नयाँ भवनमा प्रसूति सेवा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार तयार रहेकाले नगरपालिकाले सहयोग गरे सेवा विस्तार गर्न सकिने वडाध्यक्ष धिमालले बताए।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑