किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको एकवर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्य सुरु भएको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम आयोजना गरियो।

‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको कार्यक्रममा मुटु तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपचार पद्धति, प्रविधि र उपलब्धिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदान गरियो।

कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहानले ‘एआई इन कार्डियाक केयर’ विषयमा प्रस्तुति दिए। उनले मुटु उपचारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र यसको सम्भावनाबारे जानकारी दिए।

त्यस्तै, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सामा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा उपचार पद्धतिबारे प्रस्तुति दिए।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य राखे। प्रा. डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरे।

किस्ट शिक्षण अस्पतालका अनुसार दुई संस्थाबीचको सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सहज बनाएको छ। यस सहकार्यअन्तर्गत नेपाली बिरामीले किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका अनुभवी विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय (सेकेन्ड मेडिकल ओपिनियन) र दूरचिकित्सा सेवा (टेलिमेडिसिन कन्सल्टेसन) लिन सक्ने सुविधा पाएका छन्।

यसबाट जटिल स्वास्थ्य समस्या भएका बिरामीले विशेषज्ञ परामर्शका लागि भारत जानुपर्ने बाध्यता, समय र खर्च कम गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ।

किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार, विशेषज्ञ चिकित्सकीय सेवा र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप विस्तार गर्दै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑