लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० बेड क्षमताको उच्च निर्भरता एकाइ (एचडीयू) सेवा सञ्चालनमा आएको छ। शुक्रबारदेखि सुरु भएको यो सेवाले विशेष निगरानी र उपचार आवश्यक पर्ने बिरामीलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीको चाप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै एचडीयू सेवाले अस्पतालको उपचार प्रणालीलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए। सेवा सञ्चालनको पहिलो दिन पाँच जना बिरामीलाई उपचार प्रदान गरिएको छ। हाल आंशिक रूपमा सञ्चालनमा ल्याइएको सेवा दसैँपछि पूर्ण क्षमतामा सञ्चालन गरिने उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले एचडीयू सेवा सुरु हुनु अस्पतालको उपचार क्षमता विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आईसीयूमा बढ्दो चाप कम गर्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

एचडीयू सेवा विशेष निगरानी आवश्यक पर्ने तर तत्काल भेन्टिलेटरको आवश्यकता नपर्ने बिरामीका लागि उपयोगी हुने अस्पतालले जनाएको छ। मेडिसिन विभागका प्रमुख डा. पुष्पराज जोशीका अनुसार आईसीयूमा बिरामीको चाप बढिरहेको अवस्थामा तुलनात्मक रूपमा कम गम्भीर बिरामीलाई एचडीयूमा राखेर उपचार गर्न सकिनेछ। यसले गम्भीर अवस्थाका बिरामीलाई आईसीयूमा उपचारको अवसर उपलब्ध गराउन सहयोग पुग्ने उनले बताए।

अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले एचडीयू सेवा सञ्चालनले विशेष निगरानी आवश्यक पर्ने बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने बताए। यसबाट अन्य अस्पतालमा बिरामी पठाउनुपर्ने बाध्यता पनि कम हुने अपेक्षा गरिएको उनले बताए।

अस्पताल विकास समिति सदस्य कल्पना ढकालले सेवा प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न सामूहिक प्रयास र समन्वय आवश्यक रहेको बताइन्। अस्पतालमा थपिँदै गएका नयाँ सेवाले बिरामीसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि उत्साह थपेको डा. ज्ञानबहादुर मानन्धरले बताए।

अस्पतालले बिरामीको चाप र सेवाग्राहीको आवश्यकताअनुसार उपचार सेवा विस्तार गर्दै जाने जनाएको छ। एचडीयू सेवा पूर्ण क्षमतामा सञ्चालनमा आएपछि विशेष निगरानी आवश्यक पर्ने बिरामीले आफ्नै अस्पतालमा थप सहज र गुणस्तरीय उपचार पाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा अस्पतालका विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको नर्सिङ विभाग प्रमुख नेहा थापाले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

↑