औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज

काठमाडौं ।औषधि व्यवस्था विभागले डेडिकेटेड उत्पादन सुविधा नभएका प्रतिरक्षा प्रणाली  सम्बन्धी औषधि (इम्युनोसप्रेसन्ट) का ४७ प्रकारका औषधिको उत्पादन, बिक्री–वितरण तथा पैठारीसम्बन्धी अनुमति खारेज गरेको छ।
विभागले असोज २७ गते प्रकाशित गरेको सूचनामा १९ नेपाली, चार भारतीय र एक बंगलादेशी कम्पनीका विभिन्न ब्रान्ड तथा मात्राका ४७ औषधिको विवरण समेटिएको छ। सूचीमा नेपाली कम्पनीका ३२ र विदेशी कम्पनीका १५ औषधि विवरण छन्।
विदेशी कम्पनीतर्फ भारतका पानासिया बायोटेक फार्मा, इन्टास फर्मास्युटिकल्स, आरपीजी लाइफसाइन्सेस र माइक्रोल्याब्स तथा बंगलादेशको एस्कायफ फर्मास्युटिकल्सका औषधि समावेश छन्।
इन्टासका माइकोफिट ५००, माइकोफिट एस ३६०, इन्टाज्याक तथा ट्याक्फा ०.५ र १ एमजी सूचीमा छन्। त्यस्तै, पानासियाका प्यानग्राफ ०.५ र १ एमजी, आरपीजीका इम्युनोट्याक ०.५ र १ एमजी तथा मोफेटिल २५० र ५०० एमजी पनि सूचीमा परेका छन्। माइक्रोल्याब्सका सीग्राफ ०.५ र १ एमजी तथा माइकोफेन ५०० र एस्कायफको टोज्याक पनि समेटिएका छन्।
नेपाली कम्पनीतर्फ डिभाइन ल्याबोरेटोरिज, मारुती फार्मा, फार्मोनिक्स लाइफसाइन्सेस, एसियन फर्मास्युटिकल्स, निभिक्स, प्राइम, नेपाल रेमेडिज, भेगा, मेड्रिक, ओम र सीटीएललगायत १९ कम्पनीका औषधि सूचीमा छन्।
सूचीमा टोफासिटिनिब, लेफ्लुनोमाइड, ट्याक्रोलिमस र माइकोफेनोलेटसम्बन्धी औषधि समावेश छन्। एउटै औषधिका फरक ब्रान्ड र मात्रालाई छुट्टाछुट्टै गणना गरिएकाले सूचीमा ४७ विवरण रहेका हुन्।
विभागका अनुसार यसअघि जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनामा तोकिएको अवधि समाप्त भएपछि असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, बिक्री–वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिसपत्र खारेज गरिएको हो।
औषधि उत्पादनका लागि आवश्यक छुट्टै उत्पादन संरचना अर्थात् ‘डेडिकेटेड फेसिलिटी’ नभएका कारण सम्बन्धित औषधिको अनुमति खारेज गरिएको विभागले जनाएको छ। औषधिको गुणस्तर र सुरक्षा कायम राख्न तथा उत्पादनका क्रममा एक औषधिको पदार्थ अर्को औषधिमा मिसिन सक्ने ‘क्रस–कन्टामिनेसन’को जोखिम न्यूनीकरण गर्न यस्तो संरचना आवश्यक हुने विभागको भनाइ छ।
बिरामीलाई के असर पर्छ?
इम्युनोसप्रेसेन्ट औषधि अंग प्रत्यारोपणपछि अंग अस्वीकृत हुन नदिन तथा केही स्वप्रतिरक्षा रोगको उपचारमा प्रयोग गरिन्छ। यस्ता औषधि नियमित सेवन गरिरहेका बिरामीले चिकित्सकको सल्लाहबिना औषधि बन्द वा परिवर्तन गर्नु हुँदैन। सम्बन्धित औषधिको उपलब्धता र विकल्पबारे उपचाररत चिकित्सकसँग परामर्श लिनुपर्छ।

प्रतिकृया दिनुहोस

भर्खरै

↑