बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न तिलगंगाको आग्रह
काठमाडौं । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकामा देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न अभिभावकलाई आग्रह गरेको छ।
विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले ‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने सन्देशसहित साताव्यापी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको जनाएको छ।
प्रतिष्ठानका अनुसार विश्वभर कम्तीमा २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन्। तीमध्ये करिब १ अर्ब मानिसको दृष्टि समस्या रोकथाम गर्न वा उपचारमार्फत सुधार गर्न सकिने अवस्था रहेको छ।
नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा कुनै न कुनै प्रकारको अन्धोपन रहेको तथ्यांक उद्धृत गर्दै प्रतिष्ठानले ५० वर्षभन्दा माथिको उमेर समूहमा यो दर १.०५ प्रतिशत रहेको जनाएको छ। पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी देखिने पनि प्रतिष्ठानले उल्लेख गरेको छ।
नेपालमा अन्धोपना तथा गम्भीर दृष्टिदोषका प्रमुख कारणमा मोतीबिन्दु, दृष्टिदोष, आँखाको नानीमा फुलो पर्ने समस्या, जलविन्दु र मधुमेहका कारण हुने आँखासम्बन्धी समस्या रहेका छन्।
प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा पनि दृष्टिदोषको समस्या बढिरहेको प्रतिष्ठानले जनाएको छ। समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याच्युरिटी, आँखाको क्यान्सर, जन्मजात मोतीबिन्दु तथा जलविन्दुजस्ता समस्याको समयमै पहिचान र उपचार गर्न सके बालबालिकाको दृष्टि जोगाउन सकिने प्रतिष्ठानको भनाइ छ।
विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सामुदायिक आँखा अस्पताल, सर्जिकल आँखा केन्द्र तथा सामुदायिक आँखा केन्द्रमार्फत पनि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयका बालबालिकाको आँखा परीक्षण, निजामती कर्मचारी, कैदीबन्दी तथा कारागारमा कार्यरत कर्मचारीका लागि आँखा जाँच शिविर र सचेतनामूलक र्याली आयोजना गरिएको थियो। आँखा परीक्षणपछि निःशुल्क औषधि तथा चश्मा वितरण गर्नुका साथै मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया पनि गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले बच्चा जन्मिएको एक महिनामा, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष नियमित रूपमा आँखा परीक्षण गराउन अभिभावकलाई आग्रह गरेको छ।
बालबालिकाको आँखा रातो हुने, डेढो हुने, धमिलो देखिने, आँखा दुख्ने, निरन्तर चिप्रा लाग्ने वा आँसु बगिरहने, आँखा सामान्यभन्दा सानो वा ठूलो देखिने तथा आँखाको कालो भागमा सेतो देखिने जस्ता लक्षण देखिएमा तत्काल नजिकको आँखा केन्द्र वा अस्पतालमा परीक्षण गराउन प्रतिष्ठानले सुझाव दिएको छ। आँखामा चोटपटक लागेमा पनि ढिलाइ नगरी उपचार गराउनुपर्ने प्रतिष्ठानको भनाइ छ।
त्यस्तै, समयअगावै तथा कम तौलमा जन्मिएका शिशुको पनि जतिसक्दो छिटो आँखा परीक्षण गराउन प्रतिष्ठानले आग्रह गरेको छ।
आँखा स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न सरकार, स्वास्थ्यकर्मी, समुदाय, स्थानीय तह, साझेदार संस्था तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ।
भर्खरै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो : तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता
भोटेकोशी बाढी अपडेट १ हजार ४५७ जनाको शव फेला
भरतपुरका २०० भन्दा बढी स्वास्थ्य स्वयंसेविकालाई स्तन क्यान्सर सचेतना
बाँकेमा ९० जनामा डेङ्गी सङ्क्रमण, जोखिम न्यूनीकरण गर्न लार्भा नष्ट गरिने
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
देशभर मौसम बदली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना
कफीले मानिसपिच्छे फरक असर किन गर्छ? यस्तो छ वैज्ञानिक कारण
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा




प्रतिकृया दिनुहोस