बाँकेमा ९० जनामा डेङ्गी सङ्क्रमण, जोखिम न्यूनीकरण गर्न लार्भा नष्ट गरिने

नेपालगञ्ज । बाँकेमा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्। जिल्लाका कोहलपुर नगरपालिका, डुडुवा, राप्तीसोनारी, खजुरा र जानकी गाउँपालिकामा समेत डेङ्गी सङ्क्रमण देखिएको छ।

नेपालगञ्जस्थित भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि भएको शर्माले बताए। सङ्क्रमितमध्ये धेरैजसो उपचारपछि घर फर्किसकेका छन् भने केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

२३ वडामा लार्भा खोजी तथा नष्ट गर्ने अभियान

डेङ्गी सङ्क्रमणको जोखिम बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरका २३ वटै वडामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न लागेको छ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख जागेश्वर बस्नेतका अनुसार घर तथा समुदाय वरपर जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्न सक्ने स्थानमा डेङ्गी सार्ने लामखुट्टेको बासस्थान र लार्भा खोजेर नष्ट गरिनेछ।

जनस्वास्थ्य अधिकृत तथा कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालले केही दिनभित्रै अभियान सञ्चालन गर्ने तयारीस्वरूप सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको बताए।

उनका अनुसार विगतमा सञ्चालन गरिएको ‘लार्भा खोज र नष्ट गर’ अभियानपछि डेङ्गी सङ्क्रमण घटेको थियो। डेङ्गी सार्ने लामखुट्टे मङ्सिरसम्म सक्रिय रहने भएकाले त्यसअघि नै अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ।

डेङ्गीबाट बच्न के गर्ने?

  • घर तथा वरपर पानी जम्न नदिने।

  • गमला, कुलर, टायर र अन्य भाँडामा जम्मा भएको पानी नियमित फाल्ने।

  • पानीका ट्याङ्की र भाँडा छोपेर राख्ने।

  • लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउने र आवश्यकताअनुसार रिपेलेन्ट प्रयोग गर्ने।

  • उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने वा आँखाको पछाडिको भाग दुख्नेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा जाँच गराउने।

डेङ्गी सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुका साथै यसको प्रजननस्थल नष्ट गर्नु महत्त्वपूर्ण हुन्छ।

प्रतिकृया दिनुहोस
↑