बर्दिया अस्पतालमा चिकित्सक र आईसीयू अभाव, जटिल बिरामीलाई नेपालगन्ज रेफर गर्नुपर्ने बाध्यता

बर्दिया। बर्दिया अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आईसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई नेपालगन्ज र कोहलपुरका अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको छ।

५० शय्याको यस अस्पतालमा दैनिक औसत २५० जना बिरामी उपचारका लागि आउने गरेका छन्। तर आवश्यक जनशक्ति र आईसीयू सुविधा नहुँदा गम्भीर अवस्थाका बिरामीलाई समयमै उपचार दिन समस्या हुने गरेको अस्पतालले जनाएको छ।

बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबालाई गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो। शरीरमा अक्सिजनको मात्रा कम भएकाले आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि अस्पतालमा उक्त सुविधा नभएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको मस्तरामले बताए।

त्यस्तै, राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरीलाई गत असारमा मिर्गौलासम्बन्धी समस्या देखिएपछि बर्दिया अस्पताल लगिएको थियो। अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि उनलाई पनि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको उनका नाति मनोज चौधरीले बताए।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवास पाण्डेका अनुसार चिकित्सक तथा आईसीयूको अभावका कारण गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था छ।

‘अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन्। दरबन्दीअनुसारका चिकित्सक र आईसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ,’ उनले भने।

दरबन्दीअनुसार चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार दिन समस्या भएको डा. पाण्डेले बताए। चिकित्सकको अभावकै कारण आईसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

अस्पतालमा आईसीयू सञ्चालनका साथै आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग हुँदै आएको छ। बर्दिया क्षेत्र नं. १ का सांसद ठाकुरसिंह थारूले आईसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निवेदन दिएका छन्।

गत भदौ ९ गते दर्ता गरिएको निवेदनमा बर्दिया अस्पतालमा आईसीयू तथा चिकित्सकको अभावका कारण बिरामीले समस्या भोग्नुपरेको उल्लेख गरिएको छ।

डा. पाण्डेका अनुसार आईसीयू सञ्चालनका लागि सबैभन्दा पहिले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नुपर्ने हुन्छ। हाल अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट आवश्यक रहेको उनले बताए।

त्यस्तै, आईसीयू सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, आठ जना नर्स र चार जना कार्यालय सहयोगी आवश्यक पर्ने अस्पतालले जनाएको छ।

जिल्लाका बिरामीलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र आईसीयू सुविधा नहुँदा उपचारका लागि नेपालगन्ज तथा कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी सोमाई थारूले बताए।

उनका अनुसार जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था समेत आउने गरेको छ। उनले अस्पतालमा दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउनुका साथै आवश्यक उपकरण र सुविधा विस्तार गर्न माग गरे।

५० शय्याको बर्दिया अस्पतालमा अधिकांश दरबन्दी रिक्त छन्। अस्पतालमा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑