पेट दुख्दैमा आफूखुसी ग्यास्ट्रिकको औषधि नखानुस् : डा. भूपेन्द्र बस्नेत (भिडियोसहित)

पेटमा सामान्य असजिलो हुनेबित्तिकै फार्मेसी पुगेर आफूखुसी ग्यास्ट्रिक र एन्टिबायोटिक औषधि किनेर खाने बानीले नेपाली समाजमा गम्भीर स्वास्थ्य संकट निम्त्याइरहेको पाइएको छ। पेट तथा पाचन प्रणाली रोग विशेषज्ञ प्रा. डा. भूपेन्द्र कुमार बस्नेतले पेट दुख्ने सबै समस्या ‘ग्यास्ट्रिक’ नहुने भन्दै परीक्षणबिना जथाभावी औषधि नखान स्पष्ट चेतावनी दिएका छन्।

'द हेल्थ सो' पोडकास्टमा कुराकानी गर्दै वीर अस्पतालका पूर्वउपकुलपति (न्याम्स) डा. बस्नेतले खानपानमा भएको मिसावट, रासायनिक विषादी र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय क्यान्सर, फ्याटी लिभर र प्यान्क्रियाटाइटिसजस्ता जटिल रोगका बिरामीहरू ह्वात्तै बढेको बताएका छन्।

खानपानका कारण पनि पाचन प्रणालीसँग सम्बन्धित रोगको जोखिम बढिरहेको डा. बस्नेतले बताए।

डा. बस्नेतका अनुसार कालो धब्बा पर्ने गरी अत्यधिक पोलेका खानेकुरा, बारम्बार एउटै तेल तताएर बनाइएका परिकार तथा ढुसी परेका पुराना अचार स्वास्थ्यका लागि हानिकारक हुनछ । विशेषगरी अत्यधिक जलेका खानेकुरामा क्यान्सरजन्य पदार्थ बन्न सक्ने भएकाले यस्ता खाना सकेसम्म नखान डा. बस्नेतकाे सुझाव छ।

त्यस्तै, ४५ वर्ष उमेर नाघेका व्यक्तिले चिकित्सकीय सल्लाहअनुसार नियमित कोलोनोस्कोपी गराउनुपर्ने डा. बस्नेतले बताए।

डा. बस्नेतसँगको स्वास्थ्यसम्बन्धी महत्वपूर्ण कुराकानी पूरा भिडियोमा हेर्नुहोस्।

प्रतिकृया दिनुहोस

भर्खरै

↑