मुटुरोगको जोखिम बढाउने ७ कारण, कसरी जोगिने?

काठमाडौं । मुटु शरीरको महत्वपूर्ण अंग भएकाले यसमा देखिने समस्याले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ। शहरीकरण, अव्यवस्थित खानपान र बदलिँदो जीवनशैलीका कारण मुटुसम्बन्धी समस्या बढ्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मिलनप्रकाश श्रेष्ठले बताए।

मुटुरोगका कारण मुटुको भल्भ, मांसपेशी तथा मुटुलाई घेरेर रहेको पेरीकार्डियमलगायतका भागमा समस्या देखिन सक्छ। मुटुमा समस्या हुँदा शरीरले विभिन्न संकेत दिने भएकाले समयमै पहिचान गरी उपचारमा जानुपर्ने डा. श्रेष्ठले बताए।

उनका अनुसार हिँड्दा वा सामान्य काम गर्दा सास फेर्न गाह्रो हुनु, छाती दुख्नु वा भारी हुनु, मुटुको ढुकढुकी असामान्य रूपमा बढ्नु, चक्कर लाग्नु वा अचानक बेहोस हुनु तथा शरीर र खुट्टा सुन्निनु मुटुरोगका प्रमुख लक्षण हुन्।

नेपालमा देखिने मुटुरोगलाई मुख्यतः जन्मजात मुटुरोग, बाथरोगजन्य मुटुरोग र मुटुको नशा साँघुरिने वा ब्लक हुने समस्याका रूपमा हेर्न सकिने डा. श्रेष्ठले बताए।

गर्भावस्थामा आमाको पोषणको कमी, विभिन्न संक्रमण तथा चिकित्सकको सल्लाहबिना औषधि सेवनजस्ता कारणले बालबालिकामा जन्मजात मुटुरोग देखिन सक्ने उनले बताए। त्यस्तै, बाथरोगजन्य संक्रमणले मुटुको भल्भमा असर गर्न सक्ने उनको भनाइ छ।

मुटुको नशा साँघुरिने वा ब्लक हुने समस्यामा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल बढ्नु, धुम्रपान तथा मद्यपान, मोटोपना, शारीरिक निष्क्रियता र अत्यधिक मानसिक तनाव प्रमुख जोखिमका रूपमा देखिन्छन्। समयमै उपचार नभए यस्तो समस्याले हृदयघातसमेत गराउन सक्छ।

मुटुरोगबाट बच्न सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ। धेरै चिल्लो तथा बोसोयुक्त खानेकुरा र रातो मासुको सेवन कम गरी हरियो सागपात तथा फलफूलको सेवन बढाउनुपर्ने उनले बताए।

नियमित शारीरिक व्यायाम गर्ने, तनाव व्यवस्थापन गर्ने र पर्याप्त निद्रा लिने बानीले पनि मुटुको स्वास्थ्य जोगाउन सहयोग गर्ने उनको भनाइ छ। साथै, रक्तचाप, रक्तमा चिनी र कोलेस्ट्रोलको मात्रा नियमित जाँच गरी नियन्त्रणमा राख्न उनले सुझाव दिए।

डा. मिलनप्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑