'चिस्यानयुक्त भण्डारण नपुगे शव गाड्न सकिन्छ, प्रमाण सुरक्षित राख्नुपर्छ' : फरेन्सिक विज्ञ डा.वस्ती

काठमाडौं । ठूलो विपद्का बेला एकैपटक ठूलो संख्यामा शव प्राप्त हुँदा सबै शवलाई तत्काल चिस्यानयुक्त भण्डारणमा राख्न सम्भव नहुने फरेन्सिक मेडिसिन विशेषज्ञ प्राडा हरिहर वस्तीले बताएका छन्।

उनका अनुसार यस्तो अवस्थामा शवलाई अस्थायी रूपमा गाड्ने विकल्प प्रयोग गर्न सकिन्छ। तर त्यसरी गाडिएको शवलाई स्थायी रूपमा बेवारिसे बनाउन नहुने भन्दै प्रत्येक शवको वैज्ञानिक अभिलेखीकरण, निश्चित नम्बर वा कोड, आवश्यक नमुना संकलन तथा गाडिएको स्थानको विवरण सुरक्षित राख्नुपर्ने उनले बताए।

‘त्यसो गरियो भने पछि आफन्त आएर दाबी गर्दा वैज्ञानिक प्रमाणका आधारमा पुनःपहिचान गर्न सकिन्छ,’ उनले भने।

वस्तीका अनुसार ठूलो विपद्का बेला सबैभन्दा ठूलो चुनौती शव कहाँ र कसरी राख्ने भन्ने हुन्छ। पर्याप्त शवगृह वा चिस्यानयुक्त भण्डारणको व्यवस्था नभए अस्पताल वा बजार क्षेत्रमा लामो समय शव राख्न सम्भव हुँदैन।

२०७२ सालको भूकम्पमा पनि महाराजगन्ज क्षेत्रमा शव व्यवस्थापन ठूलो समस्या बनेको उनले बताए। लामो समयसम्म शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र पछि अस्थायी चिहान बनाउनुपरेको उनको भनाइ छ।

बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा समेत ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न नहुने वस्तीले बताए। ती देशमा पनि शवको अभिलेखीकरण, सुरक्षित व्यवस्थापन, एन्टिमोर्टम तथा पोस्टमार्टम विवरण संकलन र वैज्ञानिक परीक्षणमार्फत क्रमशः पहिचान गरिने उनले बताए।

ठूलो विपद्का बेला शव व्यवस्थापनमा हतार गर्नुभन्दा वैज्ञानिक प्रणाली अपनाएर प्रमाण सुरक्षित राख्नुपर्नेमा उनले जोड दिए।

प्रतिकृया दिनुहोस