बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन डा. तोसिमा कार्की मनिला जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाने भएकी छन् ।

फिलिपिन्सको राजधानी मनिलामा नोभेम्बर १८ र १९ मा हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् । फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा विभिन्न देशका मन्त्री, वरिष्ठ सरकारी अधिकारी, सांसद तथा बालअधिकार र जनस्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरू सहभागी हुनेछन् ।

सम्मेलनअघि नोभेम्बर १६ मा युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा विशेष संसदीय नेतृत्व कार्यक्रम आयोजना हुँदैछ । चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्रमुख प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।

कार्यक्रममा बालबालिकामाथि हुने हिंसा रोकथाम, हिंसाबाट प्रभावित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य तथा संरक्षण प्रणाली विकास, आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोत र संसदीय निगरानीका विषयमा छलफल गरिनेछ । विभिन्न देशका सांसद तथा विज्ञहरूले यस क्षेत्रमा भएका अभ्यास र अनुभव आदानप्रदान गर्नेछन् ।

बालबालिकामाथि हुने हिंसाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक विकासमा तत्कालीन तथा दीर्घकालीन असर पार्ने गरेको छ ।

यसको रोकथामका लागि राजनीतिक प्रतिबद्धता, प्रभावकारी कानुन तथा स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक संरक्षणका निकायबीच समन्वय आवश्यक रहेको आयोजकले जनाएको छ ।

सम्मेलनले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि विश्वव्यापी प्रतिबद्धता बलियो बनाउनुका साथै जनस्वास्थ्य र बाल संरक्षणका क्षेत्रमा नीतिगत तथा संसदीय नेतृत्वको भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑