स्वास्थ्य व्यवसायीको दर्ता र नवीकरण अब अनलाइनबाटै, प्रमाणपत्रमा क्यूआर कोड राखिने

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको दर्ता, नवीकरण र प्रमाणपत्र प्रमाणीकरण प्रक्रियालाई प्रविधिमैत्री बनाउने भएको छ । परिषद्ले दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने, प्रमाणपत्रमा क्यूआर कोड राख्ने र स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र निर्धारण गर्ने योजनासहित संस्थागत सुधारका कार्यक्रम अघि बढाएको छ ।

परिषद्का अध्यक्ष सगुन पौडेलका अनुसार सेवा प्रवाहमा रहेका प्रक्रियागत जटिलता हटाउँदै संस्थालाई पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउन सुधारका कार्यक्रम ल्याइएको हो । कार्ययोजनामा कानुनी व्यवस्था परिमार्जन, अनुगमन प्रणाली सुदृढीकरण र सेवाको सहज पहुँचलाई प्राथमिकता दिइएको छ ।

प्रस्तावित डिजिटल प्रणाली लागू भएपछि स्वास्थ्य व्यवसायीले दर्ता तथा नवीकरणको प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन् । परिषद्बाट जारी प्रमाणपत्रको आधिकारिकता क्यूआर कोड स्क्यान गरेर परीक्षण गर्न सकिनेछ । यसका साथै दर्ता तथा प्रमाणपत्रको अवस्था आफैँ जाँच गर्न मिल्ने ‘नो योर स्टाटस’ प्रणाली पनि विकास गरिनेछ ।

परिषद्का रजिष्ट्रार रमेश श्रेष्ठका अनुसार स्वास्थ्य व्यवसायीको योग्यता, दर्ता र अभ्याससम्बन्धी व्यवस्थालाई एकरूप बनाउन विभिन्न निर्णय गरिएका छन् । मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) लगायत स्नातकोत्तर तहका विशेषज्ञता दर्तालाई निरन्तरता दिइनेछ ।

त्यस्तै, ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) र एमपीएच अध्ययन गरेका जनशक्तिको कार्यक्षेत्र तथा अभ्यासको दायरा (स्कोप अफ प्राक्टिस) निर्धारण गरी प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य व्यवसायीले आफ्नो शैक्षिक योग्यता र निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर सेवा प्रदान गर्न नपाउने व्यवस्था प्रभावकारी बनाउने परिषद्को योजना छ ।

दर्ता तथा नवीकरण प्रक्रियामा प्रिस्क्रिप्सन, रेफरल स्लिप र व्यावसायिक आचारसंहितासम्बन्धी व्यवस्थालाई समेत समेटिनेछ । यसबाट स्वास्थ्य सेवाको अभ्यासमा व्यावसायिक मर्यादा र जिम्मेवारी कायम हुने परिषद्को अपेक्षा छ ।

कानुन संशोधनदेखि परीक्षा प्रणाली सुधारसम्म

स्वास्थ्य व्यवसायीको कामकारबाहीलाई व्यवस्थित बनाउन विद्यमान कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्ने तयारी पनि परिषद्ले गरेको छ । यसका लागि कार्यदल गठन गरी कानुनी तथा नीतिगत पक्षको अध्ययन गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

स्वास्थ्य व्यवसायीविरुद्ध परेका उजुरीको छानबिन, अनुगमन तथा कारबाही प्रक्रियालाई प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ । स्वास्थ्य संस्थाको नियमित निरीक्षण, व्यवसायीको आचारसंहिता परिमार्जन र नियमन प्रणाली सुदृढीकरणलाई प्राथमिकता दिइनेछ ।

परीक्षा प्रणालीलाई थप विश्वसनीय र पारदर्शी बनाउन परिषद्ले प्रश्न बैंक तयार गर्ने भएको छ । दर्ता परीक्षाको प्रश्नपत्र निर्माण तथा व्यवस्थापन प्रक्रियाको समीक्षा गरी परीक्षामा एकरूपता कायम गर्ने लक्ष्य राखिएको छ ।

शैक्षिक अनुसन्धानलाई प्रोत्साहन गर्न विद्यार्थीलाई ‘स्टुडेन्ट थेसिस ग्रान्ट’ उपलब्ध गराउने र परिषद्को वार्षिक जर्नल प्रकाशन गर्ने कार्यक्रम पनि अघि बढाइनेछ । साथै, परिषद्को आगामी पाँच वर्षको संस्थागत विकास योजना तयार गरिनेछ ।

स्वास्थ्य जनशक्तिसम्बन्धी नीतिगत विषयमा छलफल र समन्वय विस्तार गर्न स्वास्थ्य मन्त्रालय, नियामक निकाय, शिक्षण संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरिने परिषद्ले जनाएको छ ।

परिषद्ले आफ्ना सेवा तथा गतिविधिबारे सेवाग्राहीलाई जानकारी गराउन सचेतनामूलक भिडियो सामग्री उत्पादन गर्ने र प्रमाणपत्र तथा पत्यारपत्रलाई डिजिटल अभिलेखमा राख्ने योजना पनि बनाएको छ ।

परिषद्को नयाँ कार्ययोजनाले प्रशासनिक सेवालाई प्रविधिमैत्री बनाउनुका साथै स्वास्थ्य व्यवसायीको योग्यता, कार्यक्षेत्र र व्यावसायिक आचरणलाई थप व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑