मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी

भक्तपुर । मध्यपुर अस्पताल लिमिटेडले आफ्नो अधिकृत पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। अस्पतालको १६औँ वार्षिक साधारण सभामा शेयर निष्कासन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो।

भक्तपुरमा सम्पन्न साधारण सभाले अस्पतालको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानाङ्गको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभामा अध्यक्ष डा. प्रधानाङ्गले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यस्तै, सञ्चालक समिति सदस्य एवं आर्थिक प्रशासन निर्देशक डा. हरिप्रसाद सुवालले अस्पतालको आर्थिक अवस्था तथा आय–व्यय विवरण प्रस्तुत गरेका थिए।अस्पतालका अनुसार सर्वसाधारणका लागि शेयर निष्कासन भएपछि आम नागरिकले समेत अस्पतालको लगानीमा सहभागी हुने अवसर पाउनेछन्।

१०० शय्याको क्षमतामा सञ्चालन भइरहेको मध्यपुर अस्पतालले गत आर्थिक वर्षमा ६१ हजार १९८ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको छ। अस्पताल भक्तपुर जिल्लामा एमआरआई सेवा उपलब्ध गराउने एक मात्र अस्पतालका रूपमा रहेको छ।

हाल अस्पतालमा ३०४ जना कर्मचारी कार्यरत छन्। अस्पतालले स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने उद्देश्यले आफ्नै स्वामित्वमा श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्सेससमेत सञ्चालन गर्दै आएको छ।१६औँ वार्षिक साधारण सभामार्फत अस्पतालले सेवा विस्तार, आर्थिक अवस्था र आगामी योजनाबारे जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस

भर्खरै

↑