जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा

हुम्ला । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ। अर्को विशेषज्ञ चिकित्सकको ब्यवस्था नगरी भएको विशेषज्ञ चिकित्सकको सरुवा गरिँदा अस्पतालमा उक्त सेवा प्रभावित भएको हो।

विशेषज्ञ चिकित्सक भए जिल्लामै सुत्केरी गराउन सकिने गर्भवती महिलालाई सुर्खेत पठाउनुपरेको थियो। यसअघि अस्पतालमा त्यस्तै व्यथा लागेकी गर्भवती आए अस्पतालमै सुत्केरी गराउन सकिन्थ्यो। तर विशेषज्ञ चिकित्सक नभएका कारण जिल्लाबाहिर रिफर गर्नुपरेको हो।

यो एउटा मात्र नभएर अस्पतालमा विशेषज्ञ चिकित्सक नभएको कारण अन्य बिरामीलाई पनि जिल्लाबाहिर रिफर गरिन्छ।

डेढ महिनादेखि जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्।

विशेषज्ञ चिकीत्कसको अभावले गर्दा परिवार नियोजन, प्रसुती सेवा, जटिल किसिमका अन्य केशहरु आए रिफरको विकल्प अस्पतालसंग नभएको उनको भनाई छ। दुई जना विशेषज्ञ चिकित्सकको दरवन्दी भएपनि दुवै दरवन्दी पूरा कहिल्यै नभएको भन्दै उनले एक जना भएको जनशक्ति पनि सरुवा भएपछि जिल्ला अस्पताल विशेषज्ञ चिकित्सक विहीन अवस्थामा रहेको बताइन्।

प्रदेशबाट अस्पतालका लागि एक जना विशेषज्ञ चिकित्सकको ब्यवस्था नगरी भएको जनशक्ति सरुवा गरिँदा दुर्गमको अस्पतालका बिरामीले सास्ती खेप्नुपरेको छ।

विशेषज्ञ जनशक्ति भएको भए जिल्ला अस्पतालमै उपचार गर्न सकिने अन्य बिरामीलाई सो जनशक्ति नभएकै कारण जिल्लाबाहिर रिफर गरिएको छ।
उपलब्ध हुनुपर्ने विशेषज्ञ सेवा हाल नभएको कारण बिरामी मर्कामा परिरहेका छन्। दरबन्दीअनुसार विशेषज्ञ सेवाका लागि जनशक्तिको ब्यवस्था गर्न अस्पतालले प्रदेश सरकारसँग माग गरेको छ।

सात जना चिकित्सक जिल्ला अस्पतालमा हुनुपर्ने भए पनि हाल तीन जना चिकित्सकले सेवा प्रदान गर्दै आएका छन्। निमित्त कार्यालय प्रमुखसहित अन्य एक जना चिकित्सक दसैं मनाउन घर गए पनि फिर्ता भएका छैनन्।

प्रतिकृया दिनुहोस
↑