डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी

इलाम। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पताल इलामले उनको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ अर्थात् ज्यान जोखिममा पर्न सक्ने अवस्थामा पुगेको जनाएको छ।

आइतबार अस्पतालको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण रहेको जानकारी दिए।

चार दिनदेखि इलाममा अनशनरत डा. केसीको स्वास्थ्यमा गम्भीर जटिलता देखिएपछि शनिबार उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो।

उपचारमा संलग्न चिकित्सक डा. महेश आचार्यका अनुसार डा. केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम भएको छ भने पिसाबमा संक्रमणसमेत बढेको छ। स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएकाले थप उपचार र आवश्यक पहलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोशी प्रदेश सरकारलाई पत्राचार गरिएको अस्पतालले जनाएको छ।

यसैबीच, कोशी प्रदेशका स्वास्थ्य सचिव कृतिपाल सुवेदीले आइतबार इलाम अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनको उपचार तथा जीवनरक्षाका लागि सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

प्रतिकृया दिनुहोस
↑