स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार
काठमाडौं । मस्तिष्कघात (स्ट्रोक) भएपछि हात लुलो हुने, झमझमाउने र बोली लरबरिने समस्या देखिएकी रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल उपचार भएको छ। मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा करिब ९० प्रतिशत साँघुरिएको अवस्थामा चिकित्सकले ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरेका हुन्।
दुई महिनाअघि मस्तिष्कघात भएपछि हेमकुमारीको स्वास्थ्य अवस्था कमजोर बनेको थियो। हातले राम्ररी काम गर्न छाडेको थियो भने हात झमझमाउने, लुलो हुने, शरीरमा असहज महसुस हुने र बोली लरबरिने समस्या देखिएको थियो। दैनिक सामान्य काम गर्नसमेत कठिन भएपछि परिवारले उनको उपचारका लागि विभिन्न विकल्प खोजेको थियो।
उपचारकै क्रममा परिवारले उनलाई भारत पुर्याएको थियो। त्यहाँ उपचारका लागि चार लाख भारतीय रुपैयाँ खर्च लाग्ने बताएपछि परिवार आर्थिक चिन्तामा परेको थियो। आफन्तको सल्लाहमा उनीहरू काठमाडौंस्थित केएमसी आइपुगे।
केएमसीमा न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल र उनको टोलीले हेमकुमारीको उपचार सुरु गर्यो। चिकित्सकीय परीक्षण तथा आवश्यक जाँचका क्रममा मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा करिब ९० प्रतिशत साँघुरिएको पत्ता लागेको थियो। यसका कारण मस्तिष्कमा पर्याप्त रक्तप्रवाह हुन नसकेको र उनलाई पटकपटक पक्षघात हुने जोखिम रहेको चिकित्सकले बताएका थिए।
डा. पौडेलका अनुसार सीटी स्क्यान र सेरेब्रल एन्जियोग्राफीबाट परीक्षण गर्दा मस्तिष्कको मुख्य रक्तनलीमा गम्भीर अवरोध देखिएको थियो। त्यसपछि तत्काल उपचार प्रक्रिया अघि बढाइएको थियो।
‘उहाँको मस्तिष्कको मुख्य नसा करिब ९० प्रतिशत साँघुरिएको थियो। समयमै उपचार नभएको भए नसा पूर्ण रूपमा बन्द हुने र गम्भीर पक्षघात हुने जोखिम थियो। त्यसैले हामीले क्याथल्याबमा खुट्टाको धमनीबाट मसिनो तार र क्याथेटर (पातलो नली) प्रवेश गराएर मस्तिष्कको प्रभावित नसासम्म पुर्यायौँ। त्यसपछि साँघुरिएको भागमा बेलुन एन्जियोप्लास्टी गरी नसा फराकिलो बनायौँ र स्टेन्ट राखेर रक्तप्रवाह सहज बनायौँ,’ डा. पौडेलले भने।
चिकित्सकका अनुसार बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपणमार्फत साँघुरिएको रक्तनली खुला बनाइएको हो। यस प्रक्रियामा शरीरमा ठूलो चिरफार गर्नुपर्दैन। खुट्टाको धमनीबाट मसिनो क्याथेटर प्रवेश गराएर मस्तिष्कको प्रभावित रक्तनलीसम्म पुगेर उपचार गरिन्छ।
उपचार प्रक्रिया सफल भएपछि हेमकुमारीको स्वास्थ्यमा सुधार देखिएको थियो। इन्टरभेन्सन प्रक्रिया सम्पन्न भएको करिब एक घण्टामै उनको अवस्थामा सकारात्मक परिवर्तन देखिएको र दुई दिन अस्पतालमा राखेपछि घर पठाउने तयारी गरिएको डा. पौडेलले बताए।
उपचारपछि हातको समस्या र झमझमाउने अवस्थाबाट राहत पाउँदै जाँदा हेमकुमारीको आत्मविश्वाससमेत फर्किएको छ। अस्पतालबाट घर फर्किने क्रममा उनले उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन्।
‘मेरो रोग निको पार्न मिहिनेत गर्ने डाक्टर, नर्सलगायत सबैलाई धेरै–धेरै धन्यवाद। उहाँहरूले राम्रो उपचार र माया दिनुभयो। म निकै खुसी छु,’ उनले भनिन्।
आमाको उपचार सफल भएपछि छोरी बबिना थापा पनि खुसी छिन्। ठूलो शल्यक्रिया नगरी अत्याधुनिक प्रविधिबाट आमाको उपचार सम्भव भएको भन्दै उनले केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन्।
हेमकुमारीको उपचारले मस्तिष्कको रक्तनली साँघुरिँदा देखिन सक्ने गम्भीर जोखिम र समयमै विशेषज्ञ सेवा लिनुको महत्वलाई समेत उजागर गरेको छ।
भर्खरै
रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव
श्रीलंकामा मारुती फर्मा सम्मानित, पूर्वराष्ट्रपतिले दिए अवार्ड
डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको सरकारसँग आग्रह
जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित
वैद्यखानाको क्षमता अभिवृद्धि गर्न मन्त्री मेहता र पुनबीच छलफल
निजामती कर्मचारी अस्पतालमा पहिलोपटक इक्मो सेवा सुरु, गम्भीर बिरामीको सफल उपचार
पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता, स्तन क्यान्सरका ८१४ र फोक्सो क्यान्सरका ८०५ बिरामीले लिए सेवा
धेरै पढिएको
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?
पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० विदेशीको कागजात जफत
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
कङ्गोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु
अस्पताल उद्घाटनको विरोधमा झडप, प्रहरीको गोली लाग्दा १६ वर्षीय किशोर घाइते
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग


.jpeg)

प्रतिकृया दिनुहोस