तिहारमा सेलरोटी र मिठाई खाँदा ध्यान दिनुहोस्, मुटुरोगदेखि मधुमेहसम्मको जोखिम
काठमाडौं । तिहार भन्नेबित्तिकै सेलरोटी, अनरसा, फिनी, मिठाईलगायत विभिन्न परिकारको सम्झना आउँछ। दाजुभाइ तथा दिदीबहिनीबीच मिठाई र परिकार आदानप्रदान गर्ने चलन पनि तिहारको विशेषता हो। तर, चाडपर्वको रमाइलोमा स्वास्थ्यलाई बेवास्ता गर्दै अत्यधिक चिल्लो र गुलियो खानेकुरा खाँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकले चेतावनी दिएका छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. हरिहर खनालका अनुसार तिहारमा अधिकांश घरमा सेलरोटी, अनरसा, फिनी तथा अन्य मिठाई बनाउने चलन छ। यस्ता परिकार तयार गर्दा पटक–पटक तेल थपेर पकाउने गरिन्छ। यसरी लामो समयसम्म तताइएको वा पटक–पटक प्रयोग गरिएको तेल स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
त्यसैले डडेको वा पटक–पटक प्रयोग गरिएको तेल तथा घिउ सकेसम्म प्रयोग नगर्न र गर्नैपरे पनि न्यून मात्रामा प्रयोग गर्न उनले सुझाव दिए।
तिहारमा बनाइने अधिकांश परिकारमा चिल्लो पदार्थ र चिनीको मात्रा बढी हुने गर्छ। यस्ता खानेकुरा धेरै दिनसम्म राखेर खाने बानीले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
'चिल्लो र गुलियो खानेकुरा बढी खाँदा उच्च रक्तचाप, मधुमेह, युरिक एसिड र ग्यास्ट्रिकलगायत समस्या बढ्न सक्छन्। त्यसैले हामीले कस्तो खानेकुरा खाइरहेका छौँ भन्नेमा विशेष ध्यान दिनुपर्छ,' डा. खनालले भने।
उनका अनुसार गुलिया खानेकुरा तथा मिठाईको अत्यधिक सेवनले मोटोपन बढाउनुका साथै मधुमेह र उच्च रक्तचापको जोखिमसमेत बढाउन सक्छ। निरन्तर चिनीजन्य पदार्थ सेवन गर्दा अस्वाभाविक रूपमा तौल बढ्ने सम्भावना हुन्छ।
बजारमा पाइने मिठाईको गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ। लामो समयदेखि राखिएका मिठाई तथा सरसफाइमा ध्यान नदिई एउटै भाँडामा पटक–पटक तयार गरिएका परिकारले खाद्य स्वच्छतामा समस्या निम्त्याउन सक्छन्। त्यसैले दाजुभाइ तथा आफन्तलाई मिठाईको सट्टा फलफूल उपहार दिने विकल्प रोज्न सकिने उनले बताए।
डा. खनालका अनुसार अत्यधिक चिल्लो पदार्थ सेवन गर्दा रगतमा खराब कोलेस्ट्रोल बढ्न सक्छ। यसले धमनीमा बोसो जम्ने र मुटुमा रगत प्रवाह अवरुद्ध हुने जोखिम बढाउँछ। विशेषगरी उच्च रक्तचाप र कोलेस्ट्रोल भएका व्यक्तिले चिल्लो, घिउ, बटर तथा बोसोयुक्त खानेकुराको सेवनमा विशेष सावधानी अपनाउनुपर्छ।
कोलेस्ट्रोल बढेका व्यक्तिले घिउ तथा बटरमा बनाइएका मिठाई सकेसम्म नखानु राम्रो हुने उनको सुझाव छ। त्यस्तै, मुटुरोग, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीले पनि चाडपर्व भन्दै खानपानमा लापरबाही गर्न नहुने उनले बताए।
चाडपर्वमा राति अबेरसम्म जाग्राम बस्ने, नियमित व्यायाम नगर्ने र खानपानमा ध्यान नदिने बानीले पनि स्वास्थ्यमा असर पार्न सक्छ। त्यसैले चाडपर्वमा पनि नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने र घरमै उपलब्ध सागसब्जी, फलफूल तथा रेसायुक्त खानेकुरा खान उनले सुझाव दिए।
तिहारमा कस्तो खानेकुरा खाने?
डा. खनालले तिहारमा खानपान गर्दा विशेषगरी निम्न कुरामा ध्यान दिन सुझाव दिएका छन् :
-
मुटुरोग तथा उच्च रक्तचाप भएका व्यक्तिले चिनी र चिल्लो पदार्थको मात्रा सकेसम्म घटाउने।
-
गुलिया तथा चिल्लो खानेकुरा खाँदा मात्रा नियन्त्रण गर्ने र पर्याप्त पानी पिउने।
-
मिठाईभन्दा फलफूल तथा सागसब्जीलाई प्राथमिकता दिने।
-
कोलेस्ट्रोल र ग्यास्ट्रिकका समस्या भएका व्यक्तिले चिल्लो खानेकुरा सकेसम्म कम खाने।
-
पटक–पटक प्रयोग गरिएको तेल तथा घिउमा पकाइएका परिकार नखाने।
-
नियमित व्यायाम गर्ने र पर्याप्त निद्रा लिने।
भर्खरै
तिहारमा सेलरोटी र मिठाई खाँदा ध्यान दिनुहोस्, मुटुरोगदेखि मधुमेहसम्मको जोखिम
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
आईओएमले एमबीबीएस, बीडीएससहित सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गर्यो
ओभरथिंकिङदेखि ब्रेन ट्युमरसम्म : मस्तिष्क र मेरुदण्ड स्वस्थ राख्ने डा. भट्टराईका सुझाव (भिडियोसहित)
रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन
दाङमा १८० चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्ने १३ फार्मेसी फेला
धेरै पढिएको
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष
जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
गोरखा प्रदेश अस्पतालमा डिजिटल भुक्तानी सेवा सुरु, लाइन बस्नुपर्ने बाध्यता हट्ने
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्न तथ्याङ्कमा आधारित नियमनमा जोड
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना




प्रतिकृया दिनुहोस