गोरखा प्रदेश अस्पतालमा डिजिटल भुक्तानी सेवा सुरु, लाइन बस्नुपर्ने बाध्यता हट्ने

गोरखा । गोरखा प्रदेश अस्पतालले सेवाग्राहीको सहजताका लागि डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि लागू हुने गरी अस्पतालले डाइनामिक क्यूआर प्रविधिमार्फत डिजिटल भुक्तानी सेवा सुरु गरेको हो।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले अस्पतालमा आयोजित कार्यक्रममा डिजिटल भुक्तानी सेवाको शुभारम्भ गरे।

अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण ढकालका अनुसार विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा विकसित इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणालीमा डाइनामिक क्यूआर प्रविधि जोडेर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको हो।

नयाँ व्यवस्थासँगै सेवाग्राहीले अस्पतालमा लाग्ने विभिन्न शुल्क डिजिटल माध्यमबाटै सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। यसअघि भुक्तानीका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता थियो।

अध्यक्ष ढकालले डिजिटल भुक्तानीले आर्थिक कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनुका साथै सेवाग्राहीलाई सहज हुने बताए। डिजिटल माध्यमबाट भएका कारोबारको अभिलेख प्रणालीमै रहने भएकाले आर्थिक पारदर्शिता कायम गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ।

सेवा शुभारम्भ कार्यक्रममा स्वास्थ्यमन्त्री न्यौपानेले अस्पतालको सेवा सुधार र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन सकिने बताए।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालबाट प्रदान भइरहेका सेवा, हालसम्मका उपलब्धि, भावी योजना तथा सेवा सुधारका कार्यक्रमबारे जानकारी दिए।

यसैबीच, अस्पतालले बिहीबार विभिन्न कार्यक्रममार्फत २६ जना नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वागत गरेको छ।

अस्पतालका अनुसार नयाँ नियुक्त हुनेमा पाँच जना विशेषज्ञ चिकित्सक, पाँच जना मेडिकल अधिकृत, पाँच जना नर्सिङ अधिकृत, एक जना फिजियोथेरापिस्ट, १० जना स्टाफ नर्स तथा अन्य प्यारामेडिक्स कर्मचारी रहेका छन्।

नयाँ जनशक्तिको आगमन र डिजिटल भुक्तानी सेवाको सुरुवातले अस्पतालको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
↑