बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन र रतन्धो रोक्न भिटामिन ‘ए’ अपरिहार्य
काठमाडौं । सरकारले बालबालिकाको समग्र स्वास्थ्य सुरक्षा, पोषण सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत कात्तिक १७ र १८ गते दुई दिन देशभरका ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्यले अभियान सुरु गरेको हो ।
भिटामिन ‘ए’ किन आवश्यक ?
भिटामिन ‘ए’ बालबालिकाको शारीरिक वृद्धि, आँखाको स्वास्थ्य र समग्र रोग प्रतिरोधी प्रणाली (इम्युनिटी) का लागि अपरिहार्य सूक्ष्म पोषक तत्व हो । यसको कमी हुँदा बालबालिकामा दृष्टि कमजोरी हुने, आँखाको नानी सुक्खा हुने र अन्धोपन निम्त्याउने ‘रतन्धो’ (नाइट ब्लाइन्डनेस) को जोखिम उच्च रहन्छ । साथै, नियमित भिटामिन ‘ए’ सेवनले बालबालिकालाई झाडापखाला, निमोनिया तथा दादुराजस्ता सङ्क्रामक रोगहरू विरुद्ध लड्ने क्षमता प्रदान गर्छ । जुकाको औषधिले बालबालिकामा आन्द्राको परजीवी नियन्त्रण गरी रक्तअल्पता (एनिमिया) र कुपोषण हुनबाट जोगाउँछ ।
स्वास्थ्य स्वयंसेविका बबी महर्जनका अनुसार बालबालिकाको उमेरअनुसार निश्चित मात्रा मिलाएर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ । ६ महिनादेखि १ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल र १ वर्षदेखि ५ वर्ष मुनिकालाई पूरै एक क्याप्सुल खुवाइन्छ । त्यस्तै, १ देखि २ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि आधा चक्की र २ वर्ष माथिकालाई एक चक्की खुवाइने व्यवस्था छ । यसको कुनै नकारात्मक असर नहुने भएकाले ढुक्क भएर खुवाउन उनले अभिभावकहरूलाई आग्रह गरिन् ।
‘हरेक बार, खाना चार’ मा जोड
अभियानका क्रममा खोप केन्द्रहरूमा भिटामिन ‘ए’ र बालभिटा वितरणसँगै पोषणसम्बन्धी व्यावहारिक प्रदर्शनी (डेमो) समेत गरिएको छ । स्वयंसेविका महर्जनका अनुसार बालबालिकालाई क्याप्सुलका अतिरिक्त घरमै पाइने सन्तुलित आहार ‘हरेक बार, खाना चार’ नियमित खुवाउन आवश्यक छ ।
बालबालिकाको खानामा कार्बोहाइड्रेटका लागि चामल, मकै वा च्युरा; प्रोटिनका लागि गेडागुडी; पशुजन्य स्रोतबाट दूध, दही, घ्यू तथा अण्डा; र भिटामिनका लागि स्थानीय रूपमा पाइने हरियो सागपात, धनियाँ एवं पहेँला फलफूल (मेवा, अम्बा, केरा) अनिवार्य समावेश गर्नुपर्ने सन्देश केन्द्रमार्फत प्रवाह गरिएको छ । हाल बालबालिकाको पोषण र स्वास्थ्यप्रति अभिभावकहरूको चासो र उपस्थिति उल्लेख्य रूपमा बढेको स्वयंसेविकाहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार अभियान सञ्चालनका लागि देशभर आवश्यक औषधि ढुवानी भइसकेको छ ।
देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको यस कार्यक्रमका लागि बालबालिकाको सङ्ख्याका आधारमा आवश्यक आपूर्ति सुनिश्चित गरिएको छ । स्थानीय तहहरूले आफ्ना वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा पायक पर्ने सार्वजनिक स्थलहरूमा वितरण केन्द्र तोकेर सेवा प्रवाह गरिरहेका छन् । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा यो राष्ट्रिय कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।
भर्खरै
जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो समिति
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे नेपाल–जापान छलफल
नसर्ने रोग नियन्त्रणमा सरकारको जोड : उपचारभन्दा रोकथाम र जनचेतनालाई प्राथमिकता
धेरै पढिएको
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
अस्पताल उद्घाटनको विरोधमा झडप, प्रहरीको गोली लाग्दा १६ वर्षीय किशोर घाइते
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी
पाठेघर जोगाएर उपचार सम्भव छ? प्रा. डा. जगेश्वर गौतमसँग विशेष कुराकानी(भिडियोसहित)



.jpeg)
प्रतिकृया दिनुहोस