निजामती कर्मचारी अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु, घरबाटै अपोइन्टमेन्ट लिन सकिने
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै अनलाइनमार्फत ओपीडी टिकट तथा अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु गरेको छ। नयाँ व्यवस्थासँगै अब बिरामीले अस्पताल पुगेर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।
अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै बिरामीले घरमै बसेर सात दिनअघिसम्मको अपोइन्टमेन्ट बुक गर्न सक्ने जनाएको छ। यसबाट आफूले चाहेको चिकित्सकसँग जाँच गराउने पालोसमेत सुरक्षित गर्न सकिनेछ।
अस्पतालले एन्ड्रोइड प्रयोगकर्ताका लागि आफ्नो वेबसाइटमा ‘सीएसएच’ नामक नयाँ मोबाइल एपको एपीके लिंक उपलब्ध गराएको छ। एप डाउनलोड नगरी अस्पतालको वेबसाइटबाटै पनि अपोइन्टमेन्ट बुक गर्न सकिने व्यवस्था गरिएको छ। मोबाइल नम्बर प्रयोग गरेर अनलाइन प्रणालीमा लगइन गर्न सकिन्छ।
लगइन गरेपछि बिरामीले आफ्नो नाम, लिङ्ग, उमेर र स्वास्थ्य समस्याको विवरण भरी सम्बन्धित विभाग छनोट गर्नुपर्छ। त्यसपछि टोकन लिने विकल्प उपलब्ध हुन्छ। अस्पतालले सात दिनसम्मको अग्रिम अपोइन्टमेन्ट लिन सकिने बताए पनि वेबसाइटमा मिति छनोट गर्ने विकल्प भने स्पष्ट देखिँदैन।
अनलाइन बुकिङ प्रणालीमा निजामती कर्मचारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। निजामती कर्मचारीले आफ्नो संकेत नम्बर (पीआईएस) प्रविष्ट गरी प्रमाणीकरण गर्नुपर्नेछ भने सर्वसाधारणले मोबाइल नम्बरमार्फत प्रक्रिया अघि बढाउन सक्नेछन्। दर्ताका क्रममा मोबाइलमा नागरिक एप वा एसएमएसमार्फत ६ अङ्कको ओटीपी कोड प्राप्त हुन्छ।
पहिलो पटक दर्ता गर्दा प्रयोगकर्ताले आफ्नो विवरणसँगै परिवारका अन्य पाँच जनासम्मको विवरण थप्न सक्नेछन्। यसरी एकै परिवारका बढीमा छ जनाको पारिवारिक स्वास्थ्य परिचयपत्र बनाउन सकिने व्यवस्था गरिएको छ।
बिरामीले आफ्नो स्वास्थ्य समस्या वा लक्षण नेपाली, अङ्ग्रेजी वा रोमन लिपिमा लेखेर सम्बन्धित विभाग वा चिकित्सक छनोट गर्न सक्छन्। विवरण पुष्टि गरेपछि प्रणालीमा नेपालपे क्यूआर कोड उपलब्ध हुन्छ। उक्त क्यूआर कोड स्क्यान गरी १५ मिनेटभित्र भुक्तानी गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र भुक्तानी नभए बुकिङ स्वतः रद्द हुने अस्पतालले जनाएको छ।
भुक्तानी पूरा भएपछि बिरामीले डिजिटल टिकट वा टोकन डाउनलोड गर्न सक्नेछन्। अस्पतालमा आफ्नो पालो कहिले आउँछ भन्ने जानकारी नागरिक एपमार्फत हेर्न तथा ट्र्याक गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यसअघि मिडासले विकास गरेको ‘सिभिल सर्भिस हस्पिटल नेपाल’ एपमा अनलाइन अपोइन्टमेन्ट बुकिङको सुविधा उपलब्ध थिएन। नयाँ प्रणालीले अस्पतालको सेवा प्रवाहलाई थप सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
भर्खरै
निजामती कर्मचारी अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु, घरबाटै अपोइन्टमेन्ट लिन सकिने
नेपालमै उत्पादित कार–टी सेलबाट ब्लड क्यान्सरको उपचार सफल, थप बिरामीमा प्रयोगको तयारी
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम
आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा स्वास्थ्यमन्त्री मेहताको जोड
मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी
धेरै पढिएको
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
गोरखा प्रदेश अस्पतालमा डिजिटल भुक्तानी सेवा सुरु, लाइन बस्नुपर्ने बाध्यता हट्ने




प्रतिकृया दिनुहोस