नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शन

काठमाडौं । नेपाल–चीनबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्य, चिनियाँ चिकित्सकहरूको सेवा र योगदान समेटिएको वृत्तचित्र ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ प्रदर्शन गरिएको छ ।

चाइना मिडिया ग्रुपको एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले वृत्तचित्रको प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष दाहालले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चिनियाँ सहयोग आवश्यक रहेको बताए । अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्यमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतीक भएको बताए । एक सय शय्याबाट सुरु भएको अस्पताल हाल ५०० शय्यामा विस्तार भएको छ । अस्पतालमा हालसम्म २९९ सदस्यीय चिनियाँ चिकित्सक टोलीले सेवा प्रदान गरिसकेको छ ।

सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच बेइजिङमा अस्पताल स्थापनासम्बन्धी समझदारी भएको स्मरण गर्दै उनले क्यान्सर उपचार, बोनम्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवाको विस्तारमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए ।

चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र मानवीय संवेदनालाई वृत्तचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले चिकित्सकीय सेवाको मुख्य उद्देश्य पीडामा रहेका मानिसको जीवनमा आशा र खुसी फर्काउनु भएको बताए ।

उनले विसं २०७२ को भूकम्प, कोभिड–१९ महामारी तथा भोटेकोसी बाढीका समयमा चीन सरकारले गरेको उद्धार, राहत र सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित बागमती प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिका लागि चीन सरकारसँग सहयोग माग गरे ।

नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक प्रमुख चौ फानले नेपाल र चीनबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्न चीन इच्छुक रहेको बताए ।

उनका अनुसार विगत २७ वर्षदेखि चिनियाँ चिकित्सकहरूले नेपालमा उपचार सेवा, रोग पहिचान तथा रोकथाम, प्रविधि आदानप्रदान र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा योगदान दिँदै आएका छन् ।

त्यसैगरी, सन् २०१६ देखि चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच संयुक्त रूपमा तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । उक्त शिविरबाट हालसम्म आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएका छन् ।

कार्यक्रममा नेपालका लागि चिनियाँ चिकित्सक सहायता टोलीका प्रतिनिधिहरूले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका आफ्ना अनुभवसमेत सुनाएका थिए । वृत्तचित्रले नेपाल–चीन स्वास्थ्य सहकार्य र दुई देशबीचको जनस्तरको सम्बन्धलाई उजागर गरेको आयोजकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

↑