कपाल र छालाको स्वास्थ्यमा कसरी ध्यान दिने? डा. सौजन सुवेदीको यस्तो सुझाव (भिडियो)

काठमाडौं । कपाल झर्ने, चाया पर्ने, तालुपन बढ्ने तथा छालामा दाग, डन्डीफोर र ब्यारियर ड्यामेजजस्ता समस्या पछिल्लो समय बढ्दै गएका छन्। कपाल र छालाको स्वास्थ्यसँग सम्बन्धित यिनै विषयमा ‘द हेल्थ सो’ को भिडियो कार्यक्रममा डर्माटोलोजिस्ट तथा हेयर ट्रान्सप्लान्ट सर्जन डा. सौजन सुवेदीसँग विस्तृत कुराकानी गरिएको छ।

कार्यक्रममा डा. सुवेदीले कपाल स्वस्थ राख्न नियमित सरसफाइ, कन्डिसनरको प्रयोग, सन्तुलित आहार, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। चाया र चिल्लोपना बढी भए कपालको अवस्थाअनुसार हप्तामा दुईदेखि तीन पटकसम्म स्याम्पु गर्न सकिने उनले बताए।

कपाल झर्नुमा वंशाणुगत कारणसँगै हर्मोन, खानपान, निद्रा, तनाव तथा भिटामिन र आइरनको कमीले पनि भूमिका खेल्ने उनले बताए। लामो समयसम्म दैनिक धेरै कपाल झर्ने र कपाल पातलो हुँदै जाने अवस्था देखिए चिकित्सकसँग परामर्श गर्नुपर्ने उनको सुझाव छ।

कार्यक्रममा छालाको हेरचाह, फेसवासको सही प्रयोग, सनस्क्रिन, ‘फेयरनेस’ क्रिमको असर, कोलाजेन सप्लिमेन्ट, बोटक्स तथा एन्टी–एजिङका विषयमा पनि डा. सुवेदीले जानकारी दिए। छालाको प्रकारअनुसार मात्र उत्पादन प्रयोग गर्नुपर्ने र चिकित्सकको सल्लाहबिना विभिन्न केमिकलयुक्त उत्पादन प्रयोग गर्दा स्किन ब्यारियरमा क्षति पुग्न सक्ने उनले बताए।

कपाल र छालाको स्वास्थ्यसँग जोडिएका यी महत्वपूर्ण विषयमा डा. सौजन सुवेदीसँग गरिएको ‘द हेल्थ सो’को पूरा भिडियो हेर्नुहोस्।

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑