क्यानडाले स्वास्थ्यकर्मी खोज्दै, नेपाली दक्ष जनशक्तिलाई पनि अवसर

काठमाडौं । क्यानडाले स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा रहेको जनशक्ति अभाव पूरा गर्न विश्वभरका दक्ष जनशक्तिलाई आकर्षित गर्ने भएको छ। यसअन्तर्गत नेपालका योग्य स्वास्थ्यकर्मीले पनि क्यानडाका सम्बन्धित आप्रवासन कार्यक्रममार्फत अवसर खोज्न सक्नेछन्।

क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता विभाग (आईआरसीसी)ले नर्स व्यवसायी, दन्त चिकित्सक, फार्मासिस्ट, मनोवैज्ञानिक तथा सामाजिक कार्यकर्तालगायत पेशालाई स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रअन्तर्गत प्राथमिकतामा राखेको छ।

क्यानडाले स्वास्थ्य सेवासँगै विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम), कुशल व्यापार, शिक्षा र यातायात क्षेत्रका दक्ष जनशक्तिलाई समेत प्राथमिकता दिएको छ।

स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रअन्तर्गत पछिल्लो तीन वर्षभित्र सम्बन्धित पेशामा कम्तीमा १२ महिनाको पूर्णकालीन वा सो बराबरको आंशिक कामको अनुभव भएका उम्मेदवारलाई योग्यताअनुसार एक्सप्रेस इन्ट्रीको श्रेणीमा समेट्न सकिने व्यवस्था रहेको छ। यस्तो कार्य अनुभव क्यानडाभित्र वा विदेशमा हासिल गरेको भए पनि मान्य हुन सक्छ।

तर स्वास्थ्य क्षेत्रका कतिपय पेशा क्यानडामा नियमन हुने भएकाले विदेशमा प्राप्त शैक्षिक योग्यता, प्रमाणपत्र तथा व्यावसायिक योग्यतालाई सम्बन्धित क्यानाडाली निकायबाट मान्यता दिलाउनुपर्ने हुन सक्छ।

यसअनुसार नेपालका नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, मनोवैज्ञानिक, सामाजिक कार्यकर्तालगायत दक्ष स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, कामको अनुभव र सम्बन्धित आप्रवासन कार्यक्रमका मापदण्ड जाँच गरी आवेदन प्रक्रिया अघि बढाउन सक्नेछन्।

क्यानडाको आप्रवासन कार्यक्रमअन्तर्गत आवेदन दिनुअघि सम्बन्धित पेशाको योग्यता मान्यता, भाषा दक्षता, कार्य अनुभव र अन्य आवश्यक मापदण्ड पूरा भए–नभएको यकिन गर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस