नयाँ भवन निर्माणमा ढिलाइ हुँदा कोसी अस्पतालको सेवा प्रवाह प्रभावित

विराटनगर । कोसी अस्पतालको नयाँ भवन निर्माण समयमै सम्पन्न हुन नसक्दा अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।

विराटनगरस्थित कोसी अस्पताल पुरानो भवनबाटै सञ्चालन हुँदै आएकाले पछिल्लो समय सेवा प्रवाहमा समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा पर्याप्त ठाउँ नहुँदा ३५० शय्याको स्वीकृत क्षमता भए पनि हाल ३०० शय्याबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा. चन्द्रभाल झाले बताए।

अस्पतालको बहिरंग सेवा (ओपीडी) मा दैनिक दुई हजारसम्म बिरामी आउने गरेका छन्। बिरामीको चाप बढ्दै गए पनि भौतिक संरचना पर्याप्त नहुँदा उपचार तथा सेवा प्रवाहमा कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालमा निर्माणाधीन दुईवटा नयाँ भवन सम्पन्न भएपछि अस्पतालको कुल शय्या क्षमता ७५० पुग्नेछ। त्यसपछि बिरामीलाई थप व्यवस्थित र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने डा. झाले बताए।

निर्माणाधीन दुई भवनमध्ये पहिलो भवन करिब ७ हजार वर्गमिटर क्षेत्रफलमा एक बेसमेन्टसहित पाँचतले रहेको छ। उक्त भवन निर्माणका लागि २०७८ असार ३० गते भूमि निर्माण कन्स्ट्रक्सनसँग ३८ करोड ८७ लाख रुपैयाँमा सम्झौता भएको थियो।

तर सम्झौता भएको कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण प्रभावित भएको हो। त्यसपछि रमन कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएर काम अघि बढाएको छ। कम्पनी परिवर्तन हुँदा निर्माण कार्यमा ढिलाइ भएको अस्पताल प्रशासनले जनाएको छ।

पहिलो भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत पुगेको छ। सम्झौताअनुसार उक्त भवन २०८३ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर निर्माणमा भएको ढिलाइका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन।

त्यस्तै, दोस्रो भवन निर्माणका लागि २०७९ असार १३ गते सम्झौता भएको थियो। दुई बेसमेन्टसहित १० तले उक्त भवनको कुल क्षेत्रफल ३३ हजार ७१० वर्गमिटर रहेको छ।

केसी कन्स्ट्रक्सनले दुई अर्ब १७ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको दोस्रो भवन २०८४ असार १२ गतेभित्र सम्पन्न गर्ने सम्झौता छ। हालसम्म उक्त भवनको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत रहेको अस्पताल प्रशासनले जनाएको छ।

दुवै भवन निर्माण सम्पन्न भएपछि कोसी अस्पतालको सेवा विस्तारसँगै बिरामीको चाप व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। तर निर्माण कार्यमा भइरहेको ढिलाइका कारण अहिले भने अस्पतालले सीमित भौतिक संरचनामै ठूलो संख्यामा बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको छ।

प्रतिकृया दिनुहोस