एक महिनामै जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, ३७ संक्रमित अस्पतालमा

काठमाडौं । जापानी इन्सेफ्लाइटिस (जेई) भाइरसको संक्रमणबाट पछिल्लो एक महिनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ। संक्रमणका कारण थप ३७ जना अस्पतालमा भर्ना भएका छन्। मृत्यु हुनेमा कोशी प्रदेशका ६, मधेश प्रदेशका २ र लुम्बिनी प्रदेशका १ जना छन्।

नेपालमा कीटजन्य रोगमध्ये जेईलाई उच्च मृत्यु गराउने रोगका रूपमा लिइन्छ। पछिल्ला केही वर्षयता जेई संक्रमण फैलिने क्रम बढ्दै गएको छ।

जापानी इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो फ्लाभिभाइरस समूहमा पर्ने रोग हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्।

सुँगुर र हाँसलाई जेई भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने तथा धानखेत आसपास बसोबास गर्ने मानिस संक्रमणको बढी जोखिममा हुन्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार जेई संक्रमणका कारण गम्भीर बिरामी भएका करिब एकतिहाइको मृत्यु हुन सक्छ। संक्रमणबाट बाँच्नेहरूमध्ये करिब आधामा दीर्घकालीन रूपमा गम्भीर स्नायुजन्य समस्या वा अपांगता हुन सक्ने जोखिम हुन्छ।

वर्षासँगै संक्रमण बढ्ने जोखिम

पछिल्ला केही सातामै जेई संक्रमणबाट ९ जनाको मृत्यु भएको हो। जेई संक्रमणको उच्च जोखिमको मौसम अझै सुरु हुन बाँकी रहेकाले आगामी दिनमा संक्रमण र मृत्यु थप बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमले वर्षाका कारण आगामी दिनमा जेई संक्रमण बढ्न सक्ने बताए।

‘पानी परिरहेकाले आउने दिनमा जेई संक्रमण अझ बढ्न सक्छ। वर्षाको समयमा जेई संक्रमण बढ्ने गर्दछ,’ उनले भने, ‘यो संक्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्छ। घरवरिपरि सफा राख्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्छ।’

गत वर्ष जेई संक्रमणबाट कम्तीमा ४१ जनाको मृत्यु भएको थियो भने १४१ जना संक्रमित भएका थिए। संक्रमण ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको थियो। सो वर्ष संक्रमणबाट हुने मृत्युदर करिब २३ प्रतिशत थियो।

त्यस्तै, २०८१ मा काठमाडौं उपत्यकाका एक जनासहित २३ जनाको जेई संक्रमणबाट मृत्यु भएको थियो भने कम्तीमा ८० जना संक्रमित भएका थिए। स्वास्थ्य अधिकारीहरूका अनुसार यस वर्ष पनि संक्रमितमध्ये करिब २० प्रतिशतको मृत्यु भएको छ।

१ करोड २५ लाख जनसंख्या जोखिममा

नेपालमा करिब १ करोड २५ लाख मानिस जेई संक्रमणको उच्च जोखिममा रहेको मानिन्छ। गत वर्षको तथ्यांकअनुसार जेईबाट मृत्यु भएका ७६ प्रतिशत व्यक्ति ४० वर्षभन्दा माथिका थिए। संक्रमितमध्ये करिब ७० प्रतिशत १५ वर्षभन्दा माथिका थिए।

यसले जेईविरुद्ध खोप नलगाएका जनसंख्या संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ।

पश्चिम नवलपरासीमा पनि जेई संक्रमणबाट एक जनाको मृत्यु भएको छ। केही महिनाअघि मात्र जिल्लामा जेईविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो। स्वास्थ्य अधिकारीहरूका अनुसार अभियानका क्रममा ७७ प्रतिशत नागरिकले मात्र खोप लगाएका थिए। मृत्यु भएका व्यक्तिले भने जेईविरुद्धको खोप लगाएका थिएनन्।

विज्ञहरूका अनुसार जेईविरुद्ध खोप नलगाएका व्यक्तिमा संक्रमण हुने, गम्भीर बिरामी पर्ने र मृत्यु हुने जोखिम बढी हुन्छ।

जेई संक्रमणले मस्तिष्क तथा स्नायु प्रणालीमा दीर्घकालीन गम्भीर क्षति पुर्‍याउन सक्छ। संक्रमणको कुनै विशेष उपचार नभएकाले चिकित्सकहरूले बिरामीको लक्षणअनुसार उपचार गर्ने गर्छन्।

खोपलाई नै प्रभावकारी रोकथामको उपाय मानिन्छ

खोप विज्ञ तथा राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्यहरूले जेईविरुद्ध खोप नलगाएका सबैलाई एक मात्रा खोप लगाउन सिफारिस गरेका छन्।

विज्ञहरूका अनुसार जेई संक्रमणबाट गम्भीर बिरामी हुने तथा मृत्यु हुने जोखिम कम गर्न खोप प्रभावकारी उपाय हो। गत वर्षको तथ्यांकले पनि जेई संक्रमणबाट मृत्यु भएका वा गम्भीर असर भोगेका अधिकांश व्यक्ति खोप नलगाएको समूहका रहेको देखाएको छ।

गत वर्ष ४१ जनाको मृत्यु भएपछि पनि जेई संक्रमण नियन्त्रण र रोकथामका लागि पर्याप्त रूपमा अभियान सञ्चालन हुन नसकेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण तथा मृत्यु रोक्न खोप प्रभावकारी र प्रमाणित उपाय भए पनि जोखिममा रहेका सबै जनसंख्यालाई एकैपटक खोप लगाउन पर्याप्त स्रोत उपलब्ध छैन।

डा. गौतमले जेईबाट हुने मृत्यु, दीर्घकालीन अपांगता तथा संक्रमण रोक्न खोप सुरक्षित र प्रमाणित उपाय भएको बताए।

‘जेई संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपांगता र संक्रमण रोक्न खोप सुरक्षित र प्रमाणित उपाय हो भन्ने हामीलाई थाहा छ,’ उनले भने, ‘एक मात्रा खोपबाटै हाम्रो जनसंख्यालाई जोगाउन सकिन्छ भन्ने पनि हामीलाई थाहा छ। तर स्रोतको अभावका कारण एकैपटक सम्पूर्ण जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था छैन।’

उनका अनुसार संक्रमण दर अत्यधिक देखिएका नवलपरासी पूर्व र चितवनका केही वडामा मात्र खोप अभियान सञ्चालन गर्न सकिएको छ।

११ जिल्लामा जेई खोप अभियान

सरकारले जेईको उच्च जोखिम रहेका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न यस वर्ष ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।

खोप अभियानका लागि चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रूपन्देही, सुनसरी, रौतहट र सर्लाही छनोट गरिएका छन्। यी जिल्लामा जेईका कारण बिरामी हुने तथा मृत्यु हुने दर तुलनात्मक रूपमा बढी देखिएको छ।

तर खोप खरिद तथा आपूर्ति प्रक्रियामा समय लाग्ने भएकाले अभियान आगामी वैशाखअघि सुरु नहुने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

जेईविरुद्धको खोप औषधि पसलबाट समेत खरिद गर्न सकिन्छ। तर खोप महँगो पर्ने भएकाले जोखिममा रहेका धेरै नागरिकले आफ्नै खर्चमा खोप लगाउन सक्ने अवस्था नरहेको विज्ञहरू बताउँछन्।

सरकारी स्वास्थ्य संस्थामार्फत बालबालिकालाई जेईविरुद्धको खोप निःशुल्क दिने गरिएको छ। तर खोपको पहुँच नपुगेका तथा खोप नलगाएका जनसंख्यामा संक्रमणको जोखिम अझै कायम रहेकाले उच्च जोखिम भएका क्षेत्रमा खोप अभियान विस्तार गर्नुपर्ने विज्ञहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस