कोप–३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्ने

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र सहमतिका लागि रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् ।

कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा स्टिलले सबै पक्षको सहमति र सम्झौताबिना जलवायु परिवर्तनविरुद्धको सामूहिक प्रयास सफल हुन नसक्ने बताए ।

करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उनले सम्मेलन दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा समेत शीघ्र छलफल अघि बढाउनुपर्नेमा जोड दिए । प्रत्येक देशको आफ्नै धारणा र प्राथमिकता रहेकाले सहमति जुटाउन चुनौतीपूर्ण भए पनि सम्झौताका लागि सबै पक्ष लचिलो हुनुपर्ने उनको भनाइ थियो ।

उनले विश्वव्यापी तापक्रम वृद्धिबाट सिर्जित आर्थिक भार र ऊर्जा बजारको अस्थिरताका कारण जलवायु परिवर्तनका विषयमा विश्वको चासो बढ्दै गएको बताए । नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुरक्षित र किफायती ऊर्जाको महत्वपूर्ण आधार बन्दै गएको उनले उल्लेख गरे ।

विद्युतीकरण र जलवायु वित्तमा पहुँचलाई वार्ताको प्राथमिकतामा राख्दै उनले स्वच्छ ऊर्जा, सुदृढ पूर्वाधार, स्वच्छ उद्योग तथा विपद्बाट नागरिकको सुरक्षा जलवायु कार्यका महत्वपूर्ण क्षेत्र भएको बताए ।

जलवायु सङ्कटको समाधान एउटा सम्मेलनबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै स्टिलले प्रत्येक सम्मेलनले ठोस प्रगति हासिल गर्नुपर्ने बताए । जलवायु कार्यलाई प्रभावकारी बनाउन अर्बौं मानिसलाई अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।

उनले जलवायु परिवर्तनका प्रभाव र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य, रोजगारी तथा सुलभ र भरपर्दो ऊर्जाको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य र खेलकुदसँग जोड्नुपर्ने जलवायु सञ्चार

स्टिलले जलवायु परिवर्तनबारे जनचेतना फैलाउन खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन तथा कलालाई प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरे । खेलकुद मानिसको परिवार, समुदाय र पहिचानसँग जोडिने भएकाले यसमार्फत जलवायु परिवर्तनको प्रभाव आमनागरिकसम्म पुर्‍याउन सकिने उनले बताए ।

विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीका कारण खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित भएको तथा दर्शक अस्पताल भर्ना हुनुपरेको उदाहरण दिँदै उनले खेलकुद क्षेत्रलाई जलवायु परिवर्तनअनुकूल बनाउनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले विश्वकप फुटबलका क्रममा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरबारे सञ्चारमाध्यमले गरेको प्रयासबारे अनुभव सुनाइन् ।

उनका अनुसार विश्वकपका खेलमा पानी पिउने विश्रामका समयमा अत्यधिक गर्मी र उच्च आद्र्रताले खेलाडीको स्वास्थ्यमा पार्ने असरबारे चिकित्सक, खेलाडी तथा रेफ्रीसँग अन्तर्वार्ता गरेर दर्शकलाई जानकारी गराइएको थियो ।

विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उनले खेलका क्रममा पानी पिउने विश्रामलाई जलवायु विज्ञानसम्बन्धी जानकारी प्रवाह गर्ने अवसरका रूपमा उपयोग गरिएको बताइन् ।

टेलिमुन्डोले त्यस्ता विश्रामका बेला विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको र शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य दर्शकलाई देखाएको उनले जानकारी दिइन् ।

चलचित्रमार्फत जलवायु सन्देश प्रवाहमा जोड

यसैगरी भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने बताए ।

भारतमा हरेक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उनले चलचित्र उद्योग जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए ।

पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको जानकारी दिँदै उनले कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएकामा ६५ जना छनोट भएको बताए ।

लेखकलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी तथा विज्ञानमा आधारित काल्पनिक कथालगायत लोकप्रिय विधामार्फत जलवायु विषय समेट्न प्रोत्साहित गरिएको उनले जानकारी दिए ।

भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा हाल १७० चलचित्र स्टुडियो सहभागी भएका छन् । तिनको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका तयार गरिएको उनले बताए ।

चलचित्रमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई पनि स्वच्छ र कम उत्सर्जनयुक्त बनाउनुपर्नेमा उनले जोड दिए । स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई सँगसँगै अघि बढाउन सके चलचित्र तथा मनोरञ्जन क्षेत्रले जलवायु कार्यमा नागरिकलाई प्रेरित गर्न सक्ने उनको विश्वास थियो ।

प्रतिकृया दिनुहोस

भर्खरै

↑