डिएनए परीक्षणका लागि दुई उपकरण र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी उत्तम नेपालले हालैको बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डिएनए परीक्षणमा सहयोग पुर्‍याउने दुई वटा QIAGEN TissueLyser III उपकरण सहयोग गरेका छन्।

दुवैले एक–एकवटा उपकरण उपलब्ध गराएका हुन्। उत्तम नेपाल र उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँसमेत सहयोग गरेका छन्।

गत महिना बेलायत भ्रमणमा रहकी सांसद विदुषी राणालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटा उपकरण जुटाउन सहयोगको अनुरोध गरेको थियो। त्यसपछि राणाले कुल आचार्यसँग सहयोग मागेकी थिइन्। आचार्यले उत्तम नेपालसँग समन्वय गरेपछि दुईवटा पूर्ण उपकरण उपलब्ध भएका हुन्।

आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य, नेपाल र राणाले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उपकरण हस्तान्तरण गरे। कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई, उपेन्द्र महतो, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।

परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूले मातृभूमिप्रति देखाएको माया र सहयोगको प्रशंसा गरे।

बेलायतमा नेपाली समुदायसँगको भेटको अनुभव सुनाउँदै सांसद राणाले भनिन्, ‘नेपालीलाई नेपालबाट बाहिर लैजान सकिन्छ, तर उहाँहरूको मनबाट नेपाललाई कहिल्यै निकाल्न सकिँदैन। विदेशमा रहनुभएका धेरै नेपालीले बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिले आफ्नै देशमा के भइरहेको छ भनेर हेर्नुहुन्छ।’

यी उपकरण नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि नमुना तयार गर्न प्रयोग गरिनेछन्। यसले मृतकहरूको पहिचान गर्न सहयोग पुर्‍याउनेछ।

प्रतिकृया दिनुहोस
↑